• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप


असोज १४, काठमाडौं ।  शालीन एवं भद्र स्वभाव मानिने प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेको छ। संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी हुन् ।

ती कर्मचारीले आइतबार राति महरा आफ्नो डेरामा आएर मादिरा सेवन गरेको र पछि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्। महराले आफ्नो कोठामा आएर पनि मादिरा सेवन गरेको र आफूलाई जबर्जस्ती करणी गरेको महिलाले बताएकी छन्। उनले आफूमाथि हातपात गरेको आरोप पनि लगाएकी छन्।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुर्व्यवहारको शिकार भएको दाबी गरिन् ।

आफूमाथि जबर्जस्ती करणी भएको कुरा ती महिला कर्मचारीले नेकपाका महिला नेतृहरु ओनसरी घर्ती र पम्फा भुसाललाई म्यासेज गरेर जानकारी गराएको बताएकी छन्। दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको उनले बताइन् ।प्रहरीले राति नै आएर आफूसँग कुरा गरेको उनको भनाई छ ।

प्रहरी उच्च स्रोतले पनि राति नै तीनकुने प्रहरी वृत्तबाट खटिएको प्रहरी उनको डेरामा पुगेको र घटना विवरण लिएको बताएको छ । महरामाथि लागेको बलात्कारको आरोपबारे नेपाल प्रहरीले गृह मन्त्रालयमा जानकारी गराइसकेको छ।

गृह स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले यो विषयमा प्रहरी नेतृत्वसँग कुरा गरिसकेका छन्।  ‘यो केसमा सभामुख महराको गम्भीर समस्या देखिन्छ, भोलिसम्ममा केस अघि बढ्छ होला,’ गृह स्रोतले भन्यो।

यता महराको सचिवालयले भने सोमबार विज्ञप्ति जारी गरी आरोपको खण्डन गरेको छ। महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको विज्ञप्तिमा ती महिलाको आरोप निराधार, कपोकल्पित र निकै गम्भीर भएको उल्लेख गरिएको छ।

ती महिलाको कर्मचारी समायोजनमा परेको र सोही असन्तुष्टिलाई लिएर सभामुखको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएको विज्ञप्तीमा भनिएकाे छ ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार