• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणका यी हुन् एजेन्डा


असोज १७, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले तयारी तीव्र पारेको छ । राष्ट्रपति सी २५ असोज (१२ अक्टोबर) मा नेपाल आउने समयतालिकामा गृहकार्य भइरहेको छ। यसअघि २७ असोजमा आउने भनिए पनि पछिल्लो समय दुई दिनअघि नै आउने योजना बनेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

सरकारी निकायहरूले गोप्य रूपमा यसको तयारी गरिरहेका छन् । भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसँग सोझै समन्वय गरिरहेको स्रोतले जनाएको छ।

राष्ट्रपति सीको भ्रमणका क्रममा रेलमार्गदेखि ट्रान्समिसन लाइनसम्मका एजेन्डा तय भएका छन् । भौतिक पूर्वाधार, ऊर्जा तथा वाणिज्य मन्त्रालयले ती एजेन्डा अर्थ तथा परराष्ट्र मन्त्रालयलाई पठाइसकेका छन् । यद्यपि एजेन्डाबारे औपचारिक रूपमा सरकारी निकायबीच नै छलफल भएको छैन ।

मुख्य चासो केरुङ–काठमाडौं रेलमार्गमा

राष्ट्रपति सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरेको छ । उच्च स्रोतका अनुसार यसबारे दुई मोडलमा छलफल भइरहेको छ ।

पहिलो, चीनले रेलमार्ग निर्माणको घोषणा गरिदिनुपर्ने । दोस्रो, नेपालले सांकेतिक रूपमा १० प्रतिशत सफ्ट लोन लिने र ९० प्रतिशत रकम चीनले अनुदानमा दिनुपर्ने ।

रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनका रेल्वे अधिकारीबीच वार्ता भइरहेको छ । सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न आवश्यक लगानी चीनले नै गरिदिओस् भन्ने नेपालको चाहना व्यक्त भइसकेको छ ।

यसमा चीनसँग सहमति भइसकेको छैन । चीनले बराबरी रकममा अध्ययन गर्न प्रस्ताव गरेको छ । ‘डिपिआरको फाइनान्सिङ मोडालिटी ९लगानी ढाँचा० टुंग्याउने र चिनियाँ सहयोगमा रेलमार्ग निर्माणको घोषणा हुने विश्वास छ,’ स्रोतले भन्यो ।

टोखा–छहरे सुरुङमार्ग निर्माण

यसअघि पनि चर्चामा रहेको टोखा–छहरे सुरुङमार्ग निर्माणबारे अझै कुनै तहको अध्ययन भएको छैन । यस सुरुङमार्गको सम्भाव्यता वा पूर्वसम्भाव्यता अध्ययन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ ।

‘तर, परराष्ट्र र अर्थ मन्त्रालयले बोलाएर छलफल नगराएसम्म भौतिक मन्त्रालयले तयारी गरेर मात्र कुनै अर्थ छैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने । सडक विभागका अनुसार यो सुरुङ चारदेखि ६ किलोमिटर लम्बाइको हुने अनुमान छ ।

विभागमा चिनियाँ कम्पनीहरूले निर्माण गर्ने इच्छा पनि देखाएका छन् । तर, अझै प्रक्रिया अघि बढेको छैन । यो सुरुङ निर्माण भएमा काठमाडौंबाट नुवाकोट जोडिनेछ ।

पोखरा–कोरोला दुई लेनको सडक

नेपालले कोरोलामा सुक्खा बन्दरगाहसँगै पोखरादेखि कोरोला नाकासम्म दुई लेनको सडक निर्माणमा सहयोग गर्नसमेत प्रस्ताव गर्ने भएको छ । खासगरी वाणिज्य मन्त्रालयले यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आग्रह गर्ने भएको हो।

‘कोरोला नाकालाई नेपाल–चीन व्यापारको एक प्रमुख नाकाका रूपमा विकास गर्ने विषयमा नेपाल र चीनको मतैक्य भएको सन्दर्भमा सो प्रयोजनका लागि भरपर्दो सडक सञ्जाल विकास गर्न आवश्यक छ,’ भौतिक पूर्वाधार मन्त्रालय स्रोतले भन्यो ।

व्यापार र लगानीका लागि स्थायी संयन्त्र

नेपाल–चीनबीच व्यापार तथा लगानीका मुद्दा सल्टाउन सचिवस्तरीय स्थायी संयन्त्रसमेत निर्माण गर्ने तयारी गरिएको छ । व्यापार र लगानीका लागि अन्तरसरकारी समिति निर्माण गर्न दुवै मुलुक सकारात्मक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए ।

‘भारतसँग रहेको आइजिसीजस्तै संयन्त्र चीनतर्फ समेत बनाउने प्रयास हो,’ उनले भने, ‘राष्ट्रपतिको भ्रमणमा यस्तो संयन्त्रण निर्माणको घोषणासमेत हुन सक्नेछ ।’

प्रकाशित मिति : २०७६ असोज १७ गते शुक्रवार