• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

संसदबाट पनि महरा निलम्बनमा परे


असोज २३, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ । संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचना जारी गर्दै महराको संसद पद निलम्बन भएको जनाएका हुन्।

महानगरीय प्रहरी वृत्त बानेश्वरले महरा पक्राउको जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै महासचिव भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ बमोजिमको प्रयोजनका लागि पक्राउ गरिएकवो हुँदा उपनियम २ बमोजिम सूचना जारी गरिएको बताएका छन्।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ मा  ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा…

…त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ’, भन्ने व्यवस्था छ।

महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ । १५ असोजमा सभामुख पदबाट राजीनामा दिएका उनी १८ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०७६ असोज २३ गते बिहिवार