• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दशैं मनाएर काठमाडाैं फर्किँदै गरेकाे ७० जना सवार बस दुर्घटना, ११ जनाकाे शव निकालियाे


असाेज २४, सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नंको बस शुक्रबार बिहान सडकबाट २ सय मिटर तल खस्दा कम्तीमा ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूकाे उद्दारका लागि हेलिकप्टर लगिएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष जीवनकुमार थापाले लोकान्तरलाई दिएको जानकारी अनुसार उद्दारका लागि हेलिकप्टर परिचालन गरिएको हो ।

‘हामी भर्खर यहाँ ओर्लिएका छौं,’ थापाले भने, ‘उद्दार कार्य तीव्र हुँदैछ । घाइतेलाई हेलिकप्टरबाट अस्पताल पुर्याउने तयारी भइरहेको छ ।’ उनका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्नेछ।

बसमा सवार धेरैजसाे यात्रुहरू दशैं मनाएर कर्मथलाे काठमाडाैं फर्किँदै थिए । बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो। उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो।

गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘थप विवरण आउन बाँकी छ।,’ कच्ची सडक र क्षमताभन्दा बढी यात्रु चढाएका कारणले दुर्घटना भएको अनुमान छ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार