• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै, २ घण्टा २० मिनेट त्रिभुवन विमानस्थल अवरुद्ध हुने


असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी आज शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्रिभुवन विमास्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी सरकारले गरेको छ ।

शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ । सीले साँझ ६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ता राष्ट्रपति कार्यालय, शीतल निवासमा हुनेछ ।

त्यसपछि सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । देउवासँगको भेटवार्तापछि राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी कार्यतालिका छ ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि, उक्त मन्त्रालयले वार्ताको मिति सार्वजनिक गरेको छैन ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

विमान अवरूद्ध

राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिदै त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलले आज दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ । विमानस्थल उड्डयानकर्मीका लागि जारी गरिने सूचनायुक्त नोटमा सार्वजनिक गर्दै २ घन्टा २० मिनेट विमानस्थल बन्द गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिएको हाे।

विमानस्थल एक अधिकारीका अनुसार २ घण्टा २० मिनेटको अवधिभित्र चिनियाा राष्ट्रपति सीको भीभीआईपी उडान अवतरण गर्नेछ । त्यसपछि मात्रै व्यावसायिक उडान हुनेछ । सी भारतको चेन्नईबाट काठमाडौँ आउँदै छन् ।

उनको सवारीमा एयर चाइनाका दुईबटा बोइङ ७४७ विमान काठमाडौँ आउँदै छन् । विमान टर्मिनल भवनकै एप्रोनमा पार्किङ गरिने भएकाले तिनले ६ वटा जाहाज पार्किङ गर्न सकिने स्थान ओगट्नेछन् । नौवटा जहाज पार्किङ क्षमताको विमानस्थलले त्यसपछि तीनवटा विमानलाई मात्रै व्यवस्थापन गर्न सक्नेछ ।

यस्ताे छ भ्रमण तालिकाकाे समय

शनिबार: बेलुकी करिब ४:३० देखि ५:३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा उत्रने ।

करिब ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने ।

करिब ७:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने ।

आइतबार: करिब १०:३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने ।

करिब १२:३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने ।

प्रकाशित मिति : २०७६ असोज २५ गते शनिवार