• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

काँग्रेसकाे चियापान कार्यक्रममा गएर प्रचण्डले भने ‘अब हेर्दै जाउँ राजनीतिले कोल्टे फेर्छ’


असोज २६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा उत्साह देखेको बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुशी लागेको बताए ।

उनले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै असम्भव कुरालाई पनि दलहरुको सहकार्यले र एकताले सम्भव बनाएको बताए। ‘स्वर्गीय गिरिजाप्रसाद कोइराला र मबीच भएको शान्ति सम्झौताले असम्भवलाई सम्भव तुल्याएको छ’ प्रचण्डले भने, ‘हेर्दै जाउँ राजनीतिले कस्तो कोल्टे फेर्छ ?’

उनले त्यतिबेला लिएका संकल्प र प्रतिवद्धताप्रति दृढ रहने र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दायित्व रहेको बताए। दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने सत्तारुढ पार्टी र कांग्रेसबीच कस्तो सहयात्रा हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘अहिले दुई तिहाइको कुरा नगरौं ।’

कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु एवं सचिवालय सदस्य झलनाथ खनाल, माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेताहरु सुवास नेम्वाङ्ग, अमृत बोहरा, देव गुरुङ लगाएतको उपस्थिति थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको चियापान समारोहमा कांग्रेसका केन्द्रीय पदाधिकारी, नेताहरु तथा कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति थियो। चियापानमा खाने परिकारमा जेरी, समोसा, निम्की र चिया राखिएको थियो।

२०३३ सालमा स्वर्गीय बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ साल देखि हरेक वर्ष कोजाग्रहत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ।

प्रकाशित मिति : २०७६ असोज २६ गते आइतवार