• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

चियापान कार्यक्रममा गएका प्रधानमन्त्री ओलीले कांग्रेसको प्रशंसा गर्दै यस्ताे भने


असोज २६ , काठमाडौं । नेपाली कांग्रेसले आइतबार सानेपामा चियापान कार्यक्रमकाे आयोजना गर्याे । कांग्रेसले दशैँ, तिहार, छठ लगायत पर्वका अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।

चियापानमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत सहभागी भए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार, महामन्त्री शशांक कोइराला लगायतले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरे । स्वागत कक्ष नजिकै शुभकामना मन्तव्य दिन राखिएको पोडियममा उभिएर कांग्रेस–कम्युनिस्ट नेताहरुले एकैखालका अभिव्यक्ति दिए ।

एकअर्कासँगको सहकार्य र सहअस्थित्वको स्मरण गरे । सबैले एकैस्वरमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको स्वागत र प्रशंसा गरे ।

कांग्रेसको चियापानमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेस सभापति देउवा, बरिष्ठ नेता पौडेल लगायतसँगको आफ्नो सम्बन्धलाई स्मरण गरे ।

‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेल पनि ४५ बर्ष देखिकै साथी हुनुहुन्छ’ प्रधानमन्त्रीले भने, ‘यस प्रकारका कार्यक्रमले दलहरुबीचको कटुतालाई अन्त्य गर्छ । अहिले त हामीमा मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु ।’

प्रधानमन्त्री ओलीले कांग्रेसले नै दशैं, तिहार जस्ता चाडपर्वका अवसरमा चियापान कार्यक्रम गर्न सुरु गरेको र अहिले नेपालीको संस्कृतिका रुपमा विकसित भएको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रतिको निष्ठालाई तलमाथि हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । ‘उहाँहरु (देउवा, पौडेल) लाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथि हुन दिन्नँ’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।

कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने – ‘देउवासँग ४५ वर्षदेखिको सम्बन्ध हो । प्रधानमन्त्री ओलीलाई पत्रकारले प्रश्न गरे, ‘कांग्रेसले सरकारको गतिविधिलाई लिएर लोकतन्त्रबारे प्रश्न उठाएको छ नि ? ओलीले जवाफ फर्काए, ‘योबेला झूलो चकमक लगाउने काम नगरौं ।’

याे पनिः काँग्रेसकाे चियापान कार्यक्रममा गएर प्रचण्डले भने ‘अब हेर्दै जाउँ राजनीतिले कोल्टे फेर्छ’

प्रकाशित मिति : २०७६ असोज २६ गते आइतवार