• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

रुकुममा वडाध्यक्षले कुटपिट गरेकाे भन्दै एकजना दलित न्याय माग्न काठमाडाैं आए


असाेज २९, काठमाडौं । रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको भन्दै एकजना दलित न्याय माग्न राजधानी काठमाडाैं आएका छन् । रुकुममा न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएकाे भन्दै एकजना दलित विस्थापित भएर न्याय माग्न राजधानी आएका हुन् ।

रुकुमको चौरजहारी नगरपालिका ३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले स्थानीय गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुट’पिट गर्दा पनि न्याय नपाएको र उल्टै मा’र्ने धम्की आएको भन्दै राजधानी आएको बताए । पीडित गोविन्द विकले बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेनल गरी दोषीमाथि कडा कारबाहीको माग राखेका छन् ।

उनले भने, ‘मलाई ‘डुम ड्यांग्रा’ भन्दै कुट’पिट गरेर उल्टै ज्यान मा’र्ने धम्की आएपछि न्यायका लागि राजधानी आएको हुँ ।’ सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले कुट’पिट गरेको उनको भनाई छ ।

‘सामुदायिक वन जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा छलफल चल्दै थियो’, उनले भने, ‘मैले हामी पनि समितिमै बस्छौं भनेपछि डुम ड्यांग्रा भन्दै कुट’पिट गरे ।’ आफूमाथिको अन्याय अरुलाई नपरोस् भनेर दोषीमाथि कारबाही अनिवार्य भएको बताए । ‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कुट्दै कुट्दै बाहिर ल्याएर जातीय गालीगलौज गरेपछि उजुरी गरेको हुँ ।’ उनले भने ।

प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको र स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकले गुनासो पोखे । सामुदायिक वनलाई जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा विवाद रहेकाले वन दर्ताका लागि समिति बनाउनुपर्नेमा केही स्थानीयलाई जिल्ला वन कार्यालयले बोलाएर परामर्श गरेको खुलाए । यसमा आफूपनि सहभागी भएकाे उनकाे भनाइ छ ।

कुट’पिट गरेपछि वडाध्यक्ष बुढाथोकीले फोन गरेर धम्की दिइरहेको विकको भनाइ छ । प्रहरीमा उजुरी दिएपछि फेरि कुट्ने, मार्नेसम्मको धम्की आइरहेको सुनाए । गाउँका स्थानीय नेताले प्रहरीको साटो गाउँमै मिलापत्र गरी विवादलाई ढिसमिस गर्न दबाब दिएको खुलाए । तर अरुका अगाडि आफूमाथि जातीय विभेदका साथै कुट’पिट भएकाले न्यायका लागि लड्ने विकले दृढता व्यक्त गरे ।

कार्यक्रममा मुक्ति समाजका महासचिव कृष्ण बहादुर विश्वकर्माले जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ भन्दै उनले कुट’पिट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कारबाही माग गरेका छन् ।

प्रकाशित मिति : २०७६ असोज २९ गते बुधवार