• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

हुरेक रोल्पाको २३ औं साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न


कार्तिक १, रोल्पा । रोल्पा जिल्लाको पहिलो सामुदायिक रेडियो रोल्पाको संचालक संस्था मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको २३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन बिहीबार लिबाङमा सम्पन्न भएको छ ।

अधिवेशनले पुनः घनश्याम आचार्यको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पीपला घर्ती, सचिव हस्तमाली बाँठा, कोषाध्यक्ष सुभद्रा रेग्मी, सदस्यहरुमा धनसिङ वि.क, भद्रा घर्ती, प्रतिभा श्रेष्ठ, कुमार पोख्र्रेल र कृष्ण प्रसाद परियार चयन भएका छन् । संस्थाको हलमा भएको अधिवेशनमा निर्वाचन समितिमा राजु आचार्य र धरेन्द्र डाँगी रहेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष सुभद्रा आचार्यले यस वर्ष विभिन्न सात वटा परियोजना, क्रियाकलापहरु सन्चालन गर्ने क्रममा बजेट तर्र्फ कूल जम्मा ९ करोड ६२ लाख ८२ हजार १ सय ९४ र हालसम्म ८ करोड ५६ लाख ५३ हजार ९ सय ६७ खर्च भएको जानकारी दिइन् ।

संस्थाले यस वर्ष संचालन गरेका क्रियाकलापहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव हस्तमाली बाँठाले सेभ द चिल्ड्रेनको सहयोगमा रोल्पाका १ नगरपालिका, ४ गाउँपालिकाका १९ वडामा हामी सिक्न सक्छौं गुणस्तरीय आधारभूत शिक्षा परियोपजना, त्रिवेणी गाउँपालिकाका ७ वटै वडामा एकीकृत परियोजना दोश्रो चरण अन्तर्गत जीविकोपार्जन, संरक्षण र शिक्षा कार्यक्रम तथा  श्रमका लगि बसाईसराई गरेका बालबालिकाहरुको संरक्षण परियोजना (मिलन) कार्यक्रमहरु सन्चालित रहेको जानकारी दिइन् ।

त्यस्तै लुङ्ग्री गाउँपालिकाको १ र २ वडामा स्टोमा फाउण्डेसनको सहयोगमा सिड्स कार्यक्रम, सुनछहरी र सुनिलस्मृति गाउँपालिकामा विश्व शिक्षासंगको सहयोगमा सक्रिय परियोजना तथा त्रिवेणी गाउँपालिकामा प्रदेश सरकारको सहयोपगमा महिला सशक्तिकरण तथा क्षमता विकास कार्यक्रम सन्चालन, रेडियो रोल्पा सन्चालन गरिरहेको बताइन् ।

मानव अधिकार तथा संस्थामा उत्कृष्ट कार्य गरेको भन्दै सस्थापक सचिव स्वर्गीय बामदेव पोख्रेलको स्मृतिमा स्थापित बामदेव पोख्रेल मानव अधिकार स्मति पुरस्कारबाट तीन जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । संस्थाको व्यवस्थापकीय भूमिकातर्फ धरेन्द्र डाँगी, उत्कृष्ट कर्मचारीतर्फ दीपक खड्का र मनिषा भारतीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विगतको सशस्त्र द्वन्द्वको समयमा शान्ति, मानव अधिकारको क्षेत्रमा हुरेक नेपाल रोल्पाले खेलेको उल्लेख्य भूमिकाको प्रशंसा गर्दै अहिले पनि सो भूमिकाको अपरिहार्य रहेकोमा जोड दिएका छन् । जिल्लामा धेरै गैर सरकारी संस्थाहरु दर्ता भए पनि केही संस्थाहरुले नियमित क्रियाकलापहरु सन्चालन गर्ने संस्थाहरुमध्ये हुरेकले अहिले पनि जिल्लामा शिक्षा, बाल अधिकार, मानवअधिकारको क्षेत्रमा अग्रणी गैर सरकारी संस्थाको रुपमा रहेको बक्ताहरुको भनाई थियो ।

रोल्पाको पुरानो र अग्रणी मानव अधिकार संस्थाले पहिलो सामुदायिक रेडियो सन्चालन गर्न सफल भएको चर्चा गर्दै वक्राहरुले सरकारी निकायको सहयोगीका रुपमा कार्य मानव अधिकारको क्षेत्रमा काम गरिरहेको बताए । अहिले विभिन्न दातृ निकायको सहयोगमा विभिन्न गतिविधिहरु सन्चालन गरिरहेको हुरेकले विगतको जस्तै आफ्नै स्रोत, साधन र जनशक्तिमा चेतनामूलक कार्यक्रमहरु सन्चालन गर्नुपर्ने उनीहरुको जोड थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा, विशिष्ट अतिथि रोल्पा नगरपालिकाका उपप्रम्ख मनकुमारी घर्ती, सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव शोभाराम डाँगीले मन्तव्य राखेका थिए ।

त्यस्तै अतिथिहरु गैसस प्रदेश नं. ५ का सदस्य अर्जुन डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा अध्यक्ष महेश न्यौपाने, समाजसेवी तथा सहयोगीदाता चिन्तामणि आचार्यले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यत्तित्वहरु, सन्चारकर्मी, संस्थाका साधारण सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यकारी निर्देशक राजु आचार्यको स्वागत मन्तव्य तथा हुरेकका अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव हस्तमाली बाँठाले गरेकी थिइन् ।

हुरेक नेपाल रोल्पा मानव अधिकार, शान्ति र समुन्नतिका लागि भन्ने नाराका साथ २०५१ सालमा स्थापना भई २०५३ सालमा विधिवत दर्ता भएको जिल्लाकै पुरानो  मानवअधिकारवादी गैर सरकारी संस्था हो ।

प्रकाशित मिति : २०७६ कार्तिक १ गते शुक्रवार