• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

कञ्चनपुरमा जंगली हात्तीको आतंक,झण्डै २० विघा क्षेत्रफलमा अन्नबाली नोक्सान


कार्तिक १,कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय दुधुवा नेसनल पार्कबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले किसानको अन्नबाली नोक्सान गर्नुका साथै बस्ती छिरेर आतंक मच्चाउन थालेका छन।

अरु समयमा जंगलमा बस्ने हात्ती धान पाक्न सुरु भएपछि किसानको खेतमा आउने गरेको स्थानीय बलबहादुर धामीले बताए । हात्तीले खेतबारीमा लगाएको धान, उखु, तरकारी लगायतका बाली नोक्सान गरेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन । उनीहरु अन्नबाली जोगाउन रातभरी खेतमै जाग्राम बस्न बाध्य छन ।

शुक्लाफाँटा नगरपालिका ८ मा मात्र हात्तीले झण्डै २० विघा क्षेत्रफलमा अन्नबाली नोक्सान गरेको स्थानीय कृष्णसिंह धामीले बताए ।केही दिनयता, हात्तीको झुण्ड गाउँबस्तीमै पस्न थालेपछि स्थानीय त्रसित बनेका छन ।

वेदकोट नगरपालिका क्षेत्रको वडा नम्बर १ को हात्तीथला, चम्फापुर, रडारा र १० नम्बर वडाको नयाँगाउँ, चतरा, रानादैजी टोललगायत क्षेत्रमा हात्तीको बथानले किसानको बाली नष्ट गरिरहेको नगर प्रमुख अशोक चन्दले जानकारी दिए । हात्ती नियन्त्रण गर्न गाउँमा स्थानीयले रातभरी खेतमै जाग्राम बस्ने, आगो बाल्ने, पटाका पड्काउने गरेको उनले बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक १ गते शुक्रवार