• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

पोलियो दिवसमा तुलसीपुरमा सचेतना र्‍याली


तुलसीपुर ७-कात्तिक / विश्व पोलियो दिवसको अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीको आयोजना तथा नेपाल नेशनल पोलियो प्लस कमिटीको प्राबिधिक सहयोगमा बिभिन्न सँघ संस्थाहरुको सहभागितामा तुलसीपुरमा पोलियो र्‍याली निकालिएको छ । र्‍यालीलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष देव बहादुर केसीले पोलियो विश्वबाट उन्मुलन भईसके पनि यो रोगको जीवाणुले जुनसुकै बेला पनि सङ्क्रमण गर्न सक्ने भएकोले साबधानी अपनाउनु पर्ने बताए ।

र्‍यालीका संयोजक रोटरियन रुपेश शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै पोलियो रोग लागिसकेपछि यसको पूर्णरुपमा निदान हुन नसक्ने भएकोले रोकथाममै लाग्नुपर्ने आवश्यकतालाई मध्यनगर गरेर नै जनचेतना जगाउने उदेश्यले यस्तो र्‍यालीको आयोजना गरिएको बताए । र्‍यालीलाई उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले पोलियो रोग बिशेष गरी गरीवीको रेखा मुनी रहेका मुलुकहरु र सिमान्तकृत समुदायमा बढी देखिने गरेकोले देशको गरिवी मेटाउन सकेमा पोलियो स्वतह रोकथाम हुने बताए।

आजको बच्चा भोलिको कर्णधार भएकाले उनिहरुको अभिवृद्धिको लागि सरकारले पोलियो उन्मुलनको लागि रोटरी इन्टरनेसनलसँग सहकार्य गरेर धेरै योजनाहरु बनाएको पनि उनको भनाइ थियो । क्लबको अफिस “घ” लाईनबाट शुरु भएको र्‍यालीमा तुलसीपुर उप महानगरपालिका, तुलसीपुर उद्योग बाणिज्य संघ, रोट्रयाक्ट क्लब अफ तुलसीपुर, आर सि सि भिलेज काशिपुर, ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुल, ईन्ट्रयाक्ट क्लब अफ आईडियल स्कुल, ईन्ट्रयाक्ट क्लब अफ हिमाल एकाडेमी, ज्ञानज्योती सेकेण्डरी स्कुल, अरनीको स्कुल, तुलसीपुर नगर जेसिस, लायन्स क्लब अफ दाङ, लियो क्लब अफ दाङ, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, पत्रकार लगायत दर्जनौको सहभागिता रहेको थियो ।

तुलसीपुर बजार परिक्रमा पछि बिपी चोकमा आएर समापन भएको र्‍यालीलाई सम्बोधन गर्दै रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले पोलियोको बिरुद्धमा सर्वप्रथम भ्याक्सिनको बिकास गर्ने टिमको नेतृत्व गर्ने जोनक साल्कको जन्म दिवसलाई स्मरणयोग्य बनाउनको लागि रोटरी इन्टरनेसनलले केही दशकदेखी २४ अक्टुबरको दिन विश्व पोलियो दिवस मनाउन थालिएको छ ।

हरेक वर्ष क्लबले नियमित रुपमा आयोजना गर्दै आएको र्‍याली विश्व स्वास्थ्य संगठन तथा अन्य संगठन मार्फत यो उदेश्य हासिल गर्न लागि परेका हजारौ स्यमसेवक प्रति सम्मान देखाउनु पनि रहेको उनको भनाइ थियो । साथै उहाले र्‍यालीमा सहभागी सम्पूर्ण सँघ संस्था र महानुभावहरुलाई धन्यवाद दिदै नियमित खोप अभियानमा दुई थोपा पोलियो खुवाई पोलियो रोगलाई फर्किन नदिन सबै जागरुक हुनुपर्ने बताए । कार्यक्रमको सहजिकरण क्लबका सचिव सन्दिपन रिजालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार