• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

‘किसानहरु खुसी छन्, हामीहरु दुखि छौं’- मन्त्री केसी


कार्तिक ८, सल्यान । कर्णाली सरकारकी भुमि व्यवस्था तथा कृषि मन्त्री विमला केसीले किसानहरुभन्दा आफुहरु दुखी भएको बताएकी छन् । दिपावलीको शुभकामना आदानप्रदान गर्न नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको दिगो विकासमा संचारमाध्यामको भुमिकालाई सम्बोधनका क्रममा उनले किसानहरु सुखि भएको र सत्तामा बसेका आफुहरु दुखी भएको बताएकी हुन् ।

उनले भनिन् ‘अहिले व्यवसायीक खेति गर्ने किसानहरुले गर्वका साथ भन्छन् हामीहरु खुसी छौं, खेति गर्न हामीबाट सिक्नुहोस् तर हामी जनताको सेवामा खटिने जनप्रतिनिधिहरुले जनभावना अनुसार काम गर्न नसकेको भान हुन्छ र खुखी छौं ।’

उनले अब उत्पादनमुखि र औद्योगिकरणमा नजाने हो भने समाजवादको लक्ष्य पुरा नहुने बताइन् । पहुचका भरमा योजना दिने कामले निरन्तरता पाएको भन्दै दुःख व्यक्त गरेकी छन ।

अहिले संघियता आएपनि सबै तहमा त्यस्ता कामले निरन्तरता पाएकोमा उनले दुःख पोखेकी हुन । अहिले ३ तहका सरकारका बीचमा भएका तिक्तताको अन्त्य सहकार्य र सहमतीबाट मात्रै गर्न सकिने उनको भनाई छ ।

अहिले कर्णाली प्रदेशले प्रत्येक जिल्लामा प्रदेश मन्त्रालयका कार्यालयहरु खोल्दा कतिपय स्थानीय तहले विरोध गरेको भन्दै उनले स्थानीय तहलाई चुप लाग्न भनिन् । उनले भनिन्, ‘संघिय सरकारले प्रदेश र स्थानीय सरकारलाई बजेट छुट्याउछ । स्थानीय तहले आफ्नो ढंगले खर्च गर्न पाउछन्, प्रदेशले पनि आफ्नो ढंगले खर्च गर्न पाउनु पर्छ र त्यहि गर्नको लागी हामीले जिल्ला जिल्लामा कार्यालय खोलेका हौँ ।’

कार्यक्रममा कर्णालीका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले संचारकर्मी नकारात्मक कुराको उठान गरेपनि समाजलाई सहि दिशामा डोराउने खालको हुनुपर्ने बताए । उनले पत्रकारले गुनगान मात्रै हैन आलोचना गर्न पनि जान्नुपर्ने बताए । उनले लाभ प्राप्त हुने आशामा गलतको ढाकछोप पत्रकारले गरेमा समाज विग्रने तर्क गरे ।

कार्यक्रमलाई जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगायतले सम्बोधन गरेका थिए । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतमा भएको कार्यक्रमको संचालन सह सचिव शिव डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार