• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

‘नेपाल लोक स्टार’मा शनि विश्वकर्मा विजयी


कात्तिक ८, काठमाडौं । रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन् । एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्।

प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका विनोद दनुवारले जिते । उनले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए ।सान्त्वना भएका उनले दुई लाख हात पारे ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।

काे हुन शनि

भौगोलिक विकटता, पिछडिएको समुदाय त्यसमाथि युद्दले अँचेटेको त्यो बिकट गाउँ रोल्पाबाट एउटा कलिलो ठिटो लोकस्टार बनेका छन । आधुनिकताको कभरमा पश्चिमा संस्कार र संस्कृतिले हरण गरेको हाम्रो मौलिक संस्कार र संस्कृतिलाई बचाउन स्थानीय ‘साईली बरै’ गीतलाई काँधमा बोकेर केवल १७ बर्षे ठिटो नेपाल लोक स्टार मन्चको बिजेतामा पुगेका छन्, शनि विश्वकर्मा ।

नव युगका अल्लारे ठिटोहरु आधुनिक रक-पपमा रमाईरहेको बेला बिकट गाउँमा जन्मिएको ठिटो शनि बिश्वकर्मा मौलिक लोक गीतमा प्रवेश गर्नुको कारण आफु जन्मिएको ‘माटो’लाई मान्छन । उनि माटो प्रति बफादार छन्, माटोमै हुर्किएको मौलिक संस्कृतिको एक असल पहरेदारको रुपमा शनिले आफुलाई उभ्याएका छन् ।

उनको चर्चा देश र विदेश भरि छ । अझै भन्दा… युद्दको चिनारी बोकेको रोल्पामा शनिको अदभुत प्रतिभाले बिशेष महत्व राखेको छ । सानै देखि भद्र स्वभावका शनि लोक संगीतको नक्षेत्रका एक भद्र अनि शालीन र बहु-प्रतिभाशाली युवा हुन् ।

जब उनका बाल्यकालमा चेतहरु भद्र अनि शालीन भएर खुल्दै थिए, तब उनि आफु जन्मिएको बनपाखामा गाई ग्वाला (गोठालो) गरिरहेका थिए । उनको साथमा केहिथान गाईहरु थिए, केहि थान भेडा बाख्रा थिए, अनि उनको साथमा एक थान बासुरी र मादल पनि थियो ।

अझै भनौ, जिबनको गोरेटोमा गित संगीतले उनको हृदयमा एक सारथिको रुपमा सहयात्रा गरिरहेको थियो । बाँसुरीको धुन निकाल्न र मादलको ताल दिन उनलाई गाउँको माटोले सिकायो । शनिले बाँसुरी र मादल पनि बजाउने सामर्थ्य बालापनमै सिके।

शनि बनपाखामा हिड्दा डुल्दा वा गोठालो जाँदा गित गुङ्गुनाउथे । सायद अदृश्य त्यो भगवानले उनलाई मखमली स्वर दिएछन क्यारे, त्यहि मखमली आवाज उन्कालागी अहिले बरदान भएको छ ।

उनले ७ कक्षामा पढ्दा गाउँको दशैँ मेलामा पहिलोपटक स्टेजमा चढेर गित गाएका थिए, जतिबेला उनि ११ वर्षका थिए । स्थानीय माडी युवा जलजला क्लव रोल्पाको आयोजनामा भएको कार्यक्रममा उदय सोताङ्ग र मनिला सोताङ्गको गित ‘आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो’ आधुनिक गित गाएका थिए । उनले पहिलो पटक स्टेजमा चढेर यो गित गाएका थिए ।

उनको त्यो प्रस्तुतिले धेरैबाट स्याबास बटुले । गाउँघर र मेला भरि उनको प्रतिभाको कुरा चल्यो । त्यसैले शनिलाई गायन यात्रामा थप हौसल्ला मिल्यो । गाउँको दशैँ मेलामा उनले दिएको प्रस्तुतिका कारण दोश्रो पटक माडीचौरको ठुलै माघी मेलामा अतिथि कलाकारको रुपमा निम्तो पाए । त्यहाँ उनले लोक गायक रामजी खाण्डको लोक गित ‘भोटमा बस्ने भोटेनी हजुर’ प्रस्तुत गरे । संगै अन्य आधुनिक गीतहरु पनि प्रस्तुत गरे ।

यसरि महोत्सब तथा मेलाहरुमा गाउदै गर्दा उनका शुभचिन्तकहरुबाट सांगीतिक यात्रामा लाग्नुपर्छ भन्ने थप प्रेरणा मिलिरह्यो । उनको संगीत प्रतिको भद्र लगावले झनै बहुमुखी गायन कलामा निखार आउदै गयो ।

लिबाङमा रहेको रेडियो जलजलाले आफ्नो बार्षिक उत्सब मनाउन ‘जलजला तारा’ प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा टप १० भित्र परे । अर्को राप्ति आइडल गायन प्रतियोगितामा पनि भाग लिने अवसर मिल्यो । उनि उक्त प्रतियोगितामा दोश्रो भए ।

रोल्पामा म्युजिक क्लास नभएको कारण संगीत सिक्ने उनको चाहाना त्यसै थाँती रह्यो । तर उनका लागि गाउँघरमा हुने मेला, पर्व, महोत्सबहरु, अनि जिल्ला र अञ्चल स्तरीय प्रतियोगिताहरु म्युजिक पाठशाला बने । जुन पाठशालाहरुले आज नेपाल लोक स्टारको गोल्डेन स्टार हुँदै फाइनल सम्म पुर्याएको छ ।

दुई छोरा र एक छोरी सन्तान मध्यका कान्छा छोरा हुन् शनि बिश्वकर्मा । २०५८ सालमा जन्मिएका शनिले गाउँमै रहेको श्री नेपाल राष्ट्रिय निमाबि जंकोटमा कक्षा १ देखि ८ सम्म अध्यन गरे । माध्यामिक तहको पढाइ भने सदरमुकाम लिबांगमा रहेको बाल कल्याण नमुना माबिमा अध्यन गरे । त्यसपछि १२ कक्षा सम्म पढ्न दाङ्ग घोराहीमा रहेको माउण्ट इङ्ग्लिश बोर्डिंग स्कुलमा अध्ययन गरे ।

भटमास संग चामल साट्दै शनिलाई हुर्काएका आमाबाबा अहिलेपनि गाउँमै खेति किसान गरेर बस्छन । दुखले हुर्काएको छोरो नेपालको पहिलो लोक स्टार भएको हेर्ने उनीहरुको ठुलो धोको थियाे ।

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार