• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

आलम प्रकरण : प्रहरीले निकाल्यो यस्तो निश्कर्ष


कार्तिक १५, रौतहट । प्रहरीले सांसद अफताल आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा रौतहट २ का सांसद आलम १९ दिनदेखि प्रहरी हिरासतमा छन् । ‘अनुसन्धानका विविध पक्षहरु समेटेर हामीले मिसिल तयार गरेका छौं’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले भने ‘अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिएर आजै सरकारी वकिलको कार्यालयमा बुझाउँछौं ।’

अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन प्रहरी प्रमुख ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजी किरण गौतम र तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीसँग पनि बयान लिएको छ । प्रहरीले उनीहरु भएकै ठाउँमा पुगेर बयान लिएको हो । यसैगरी घटनाका समयमा राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र राजीव बस्नेतले पनि बयान लिइएको छ ।

प्रहरीले घाइते सफी मोहम्मद र घटनामा प्रत्यक्षदर्शी एवं मतृक ओसी अख्तरका ससुरासँग पनि बयान लिएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले घाइतेहरुलाई इँटा भट्टासम्म पुर्‍याउन प्रयोग भएको ट्याक्टर बरामद गरेको छ भने घाइतेहरुको उपचार गरिएको भारतीय अस्पतालको रिपोर्ट पनि ल्याइएको छ ।

प्रहरीले राजपुरमा बम विस्फोट भएको र त्यहाँ ज्यान गुमाएका वा घाइते भएकाहरुलाई इँटा भट्टामा लगेर जलाएको ठहर गरेको छ ।

‘त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तरको घटनामा मृत्यु भएको छ । अरु दर्जनौं मारिएका छन्’ रौतहट प्रहरीका एक अनुसन्धान अधिृकतले भने, ‘प्रतिवेदनमा मृतकको संख्या यकिन गर्न सकेनौं ।’

प्रहरीको अनुसन्धानमा आलमसँगै फरार रहेका चारै जनालाई मुख्य दोषी भएको निष्कर्ष पनि निकालेको छ ।

केके छन् प्रमाण ?

प्रहरीको अनुसन्धान प्रतिवेदनमा ओसी अख्तरका ससुरा समसुल मियाँको बयानलाई बलियो प्रमाणका रुपमा पेश गरिएको छ । उनले विस्फोटमा घाइते भएकाहरुलाई ट्याक्टरमा हालेर इँटा भट्टामा लैजाँदै गरेको गहुँबारीमा लुकेर आफूले हेरेको बताएका छन् ।

यस्तै घाइते मोहम्मदको बयान अर्को प्रमाण हो । उनी घटनामा परेर जीवित रहेका एक्ला व्यक्ति हुन् । फरेन्सिक रिपोर्टले पनि सफीको छाती र पेटको लागेको घाउ बम विस्फोटबाटै भएको प्रमाणित गरेको छ । सफीले उपचार गरेको भारतको बिहारस्थित अस्पतालको रिपोर्ट ल्याइएको छ ।

एक अनुसन्धान अधिकृतले भने, ‘दुई जनाको बयानसँगै राजपुरका प्रहरी इन्स्पेक्टर इन्द्र सुवेदीलाई हटाउनु र राजीव बस्नेतलाई खटाउनुले पनि घटना भएको पुष्टि गर्छ भन्ने प्रतिवेदनमा उल्लेख छ ।’

घटनापछि स्थलगत अध्ययन गर्न गएको मानवअधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को रिपोर्ट, ना १ त ६४७२ नम्बरको ट्याक्टरलाई पनि प्रमाणका रुपमा पेश गरेको छ । विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टासम्म पुर्‍याउन प्रयोग भएको भनिएको यो ट्याक्टर उक्त समय आलमका भाइ महताब आलमको नाममा दर्ता भएको प्रमाण प्रहरीसँग छ ।

सोमबार अदालतमा पेश गर्ने तयारी

जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपछि मुद्दा दर्ताको प्रक्रिया सुरु हुनेछ । आलमविरुद्ध बम विष्फोट, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान गरी तीन मुद्दा लगाउन प्रहरीले राय दिएको छ ।

आलमलाई सोमबार मात्र अदालतमा पेश गर्ने सम्भावना रहने जिल्ला सरकारी वकिल खडिन्द्र राज कटुवालले बताए । आइतबार सार्वजनिक बिदा परेकाले आलमलाई सोमबार अदालतमा पेश गरेर अभियोग पत्र दायर गरिने उनले बताए । सोमबार अभियोग पत्र दायर भएमा मंगलबार बयान हुनेछ । ‘अदालतमा मंगलबार नै थुनछेक बहस हुनसक्छ’ सरकारी वकिल कटुवालले भने ।

अनलाइन खबरबाट

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार