• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानकाे शारदा नगरमा महिनावारी भएका छात्रालाई विद्यालयमै निशुल्क प्याड


मिना बुढाथोकी / कार्तिक १९, सल्यान । सल्यानको शिवजन मावि सितलपाटीमा कक्षा १० मा अध्यनरत प्रतिक्षा भण्डारीले अबको दिनमा विद्यालयमा नियमित आउन पाउने महसुस भएको बताइन् ।

विद्यालयमा  आएको समयमा महिनावारी भएपछि बिचैमा कक्षा छोडेर भाग्नु पर्ने र कम्तिमा तिन चार दिन अनियमित हुने समस्या भोगेको स्मरण गर्दै उनले विद्यालयमै स्यानेटरी प्याड पाइने भएपछि खुशी भएको बताइन् । ‘महिनावारी भएको समयमा म र म जस्तै मेरा साथीहरुले विद्यालय समयमा समस्या भोग्नु पथ्र्यो’, उनले भनिन्, ‘अब विद्यालयमा निशुल्क रुपमा प्याड पाइने भएपछि भने समस्या समाधान भएको छ ।’

यस्तै सोही विद्यालयमा कक्षा १० मा अध्यनरत सुस्मा देवकोटाले यस अघि विद्यालयमा प्याडको व्यवस्था नहुँदा विभिन्न समयमा छात्राहरुले कक्षा छाड्ने गरेको बताइन् । अहिले भने शारदा नगरपालिकाले विदालयलाइ निशुल्क रुपमा प्याड उपलब्ध गराएपछि छात्राहरुलाइ धेरै सहज भएको उनले बताइन् ।

उनले यस अघि धेरै साथीहरु कक्षाकोठामा महिनावारी हुँदा लाज मानेर कक्षा छोडेर घर जाने गरेको बताउँदै अब भने विद्यालयमा महिनावारी भएको समयमा शिक्षिकासंग प्याड मागे निशुल्क रुपमा पाइने कुराले खुशी भएको बताइन् । ‘विद्यालयमा निशुल्क रुपमा प्याड पाइने भएपछि महिनावारी भएको समयमा मलाइ र मेरो अन्य साथीहरुलाइ पनि कुनै समस्या हुने भएन’, उनले भनिन्, ‘यस कार्यका लागी हामी नगरपालिका लाइ विशेष धन्यवाद दिन चाहन्छौं ।’

कक्षा १० मै अध्यनरत सुनिता विकले विद्यालयमा नगरपालिकाले वितरण गरेको सेनेटरी प्याड हातमा लिएर देखाउँदै यस कार्यको प्रशँसा गरेकी छन् । उनले विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका साथीहरुका लागी निशुल्क रुपमा प्याड पाउने कुराले सबै छात्राहरुलाइ सहज भएको बताइन् ।

‘विद्यालयमा आएको समयमा महिनावारी हुँदा कतिपय साथीहरुले पसलमा गएर प्याड किन्नु पर्ने बाध्यता थियो र कतिपय संग आर्थिक अभावका कारण घर फर्किनुको विकल्प थिएन’, उनले भनिन्, ‘अब भने समस्या समाधान भएको छ ।’हामी सबैले महिनावारी भएको समयमा पनि कक्षा छाड्नु पर्ने बाध्यता हटेको छ उनले थपिन् ।

शारदा नगरपालिकाले सोमवार शिवजन माविलाइ प्याड हस्तान्तरण कार्यक्रममा सहभागी छात्राहरुले यस्तो बताएका हुन् । नगरपालिकाले नगरभित्रका सबै माविमा स्यानेटरी प्याड वितरण गर्ने जनाएको छ ।नगर प्रमुख शुरेस अधिकारीले शिक्षा र स्वास्थय राम्रो भएमा मात्रै अरुसबै कुरा राम्रो हुने भएकाले शिक्षा संग जोडिएको स्वास्थय समस्यालाइ मध्यनजर गर्दै नगर भित्रका सबै विद्यालयमा सेनेटरी प्याड वितरण गरिने बताए ।

उनले किशोरीहरुलाइ प्याड वितरण गर्दै महिनावारी हुने कुरामा कुनैपनि लाज नमानी प्याडको प्रयोग गर्न र स्वस्थ रहन आग्रह गरे । महिनावारी भएको समयमा विद्यालय छोड्ने कुराको आजैबाट अन्त्य गर्दै अध्यनलाइ निरन्तरता दिन उनले सबैलाइ अनुरोध गरे ।

नगरपालिकाले यस आर्थिक वर्षमा एक हजार सात सय छात्राहरुका लागी प्याड वितरण गर्न लागेको नगर शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बपालले बताए । उनले विद्यालयमा छात्राहरुलाइ नियमित ल्याउनका लागी यस कार्यले योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सरकारले पनि यस आगामी वर्षमा सम्पुर्ण विद्यालयका किशोरीहरुलाई सेनेटरी प्याड वितरण गर्ने उद्देश्य राखेको तर बजेट विनियोजन नगरेकाले शारदा नगरपालीकाले भने आफ्नै बजेट बाट प्याड खरीद गरेको  शारदा नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले बताए ।

उनले नगरभित्रका सम्पुण माविमा अध्यनरत छात्राहरुलाइ समेट्ने गरि प्याड वितरण गरिने बताए ।  छात्राहरुलाइ मध्यनजर गर्दै नगरपालिकाले थालेको यस कार्यको विद्यालयले मात्रै नभइ स्थानीयहरुले पनि प्रशँसा गरेका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक १९ गते मङ्गलवार