• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

मालपोत कार्यालय सल्यानमा इन्टरनेट सर्भर नचल्दा ३ दिनदेखि सेवाग्राही पालो कुर्दै


कार्तिक १९, सल्यान । मालपोत कार्यालय सल्यानमा इन्टरनेट सर्भर नचल्दा सेवाग्राही ३ दिनदेखि पालो कुरिरहेका छन् ।

सरकारले प्रत्येक मालपोत कार्यालयहरुलाई अनलाइन मैत्री बनाउने भनेसँगै सल्यानको मालपोत कार्यालयमा गएको साउन १६ गतेदेखि अनलाइन सेवा सुभारम्भ गरिएको थियो । तर अनलाइन सेवा सुभारम्भ भएयता बेलाबेला इन्टरनेट सर्भरले काम नगरेर सेवाग्राहीले सास्ती भोग्दै आएका छन् ।

आज मंगलबार भने मालपोत कार्यालय सल्यानमा ठुलै भिड लाग्यो । तिहार सकिएसँगै घर, घडेरी र जग्गाका काम गर्न आतुर भएका सेवाग्राही कार्तिक १७ गते आइतबारदेखि नै कार्यालयमा आए । तर सोहिदिन काम सकेर फर्किनेगरी आएका उनिहरु काम नहुँदा मंगलबारसम्म पनि पालो कुरिरहेका छन् ।

कपुरकोट गाउँपालिकाको गाँडापानीबाट आएकी पवित्रा बुढाथोकीले आफु जग्गा पास गर्न आएको तर काम नहुँदा कुरिरहेको बताइन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भनिन्, ‘कर्मचारीले नेटले काम गरेन भन्छन्, हामी ३ दिनदेखि कुरिरहेका छौं, हामीलाई ढिला भयो, काम सकेर जाने हो ।’

दार्मा गाउँपालिका १ बाट आएका अर्जुन विकको समस्या पनि उस्तै छ । जग्गा नामसारी गर्न सोमबार बिहानै आएका उनि मंगलबारसम्म पनि काम नहुँदा पालो कुरिरहेका छन् । उनि भन्छन्, ‘टाढाबाट आएका हौं, हिजै काम सकेर फर्किने पलान थियो । तर नसकिदा आज पनि बस्नुपर्ने भयो ।’

बागचौर नगरपालिका २ का कमल केसीले नेट चलेन भनेर कर्मचारी बाहिर आएर बस्ने गरेको र आफुहरु कुरिरहनु परेको बताए । उनले भने, ‘कि त राम्रो इन्टरनेट सर्भर हुनुपर्याे नत्र त पहिलेकै हातले लेख्ने सिस्टम ठिक थियो ।’

यता मालपोत कार्यालय सल्यानका अधिकृत महादेव कसाँइले सरकारले काठमाडौंबाटै दिएको सर्भरले काम नगरेको बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले सर्भरले कतिबेला काम गर्ने र कतिबेला नगर्ने बताए । उनले भने, ‘यो सर्भरमा हाम्रो केहि लाग्दैन तर पनि माथि कुरा गरेका छौं । अबदेखि नियमित सर्भरले काम गर्ने आशामा छौं ।’ उनले मंगलबार दिउँसाे २ बजेबाट सर्भरले काम सुरु गरेकाे जानकारी दिए ।

कार्यालयका कम्प्यूटर अपरेटर नरबहादुर कँवरले सिंहदरबारबाटै केन्द्रीय डाटा जेआइडिसी आएको र त्यो सिंहदरबार सेन्टरबाट काम नगर्दा यहाँको पब्लिक सर्भरले काम नगर्ने बताए । उनले कहिलेकहीँ आफुहरुले आधा जति काम गर्दा सर्भर कटेपछि कम्प्यूटरमा गरेको उक्त डाटा उडेर फेरिबाट गर्नुपरेको बताए ।

भिडियाे


 

प्रकाशित मिति : २०७६ कार्तिक १९ गते मङ्गलवार