• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्रदेश ५ को राजधानी दाङ नै हुन्छ : प्रचण्ड


कार्तिक २०, दाङ । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ५ को राजधानी दाङ नै हुने बताएका छन् । त्यसका लागि आफुले पहल गर्ने उनकाे भनाइ छ ।

प्रेस संगठन दाङले बुधबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने बताए ।  ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ’, प्रचण्डले भने, ‘ मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइकाे थिएँ र भोलि पनि गर्नेछु । ’

प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै प्रचण्डले अगाडि थपे, ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भई नै राखेको छ ।’

दाङलाई नै प्रदेश ५ को केन्द्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको उनको भनाइ छ । दाङ पुग्दा आफूलाई न्यायो अनुभूति हुने गरेको भन्दै अध्यक्ष प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गरे ।

उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै अध्यक्ष प्रचण्डले चुनाव सफल बनाउन सबै लाग्नुपर्ने बताए । ‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, अध्यक्ष प्रचण्डले भने, ‘सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’

हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल छ । प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल दाङबासी हुन् । तर, प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै दाङबासीले नेताहरुको आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार