• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

आलमले अदालतमा दिए ३२ प्रश्नका जवाफ


कार्तिक २०, रौतहट । १२ वर्ष अगाडिको बम काण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता मोहम्म अफताव आलमको बयान बुधबार पनि नसकिएको जिल्ला अदालत रौतहटले जनाएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ (बम) भण्डारण तथा उत्पादन गरेको अभियोग लागेका आलमको मंगलबारदेखि अदालती बयान शुरु भएको थियो ।

मंगलबार बीचमै रोकिएर केही बेर मात्रै बयान चलेको थियो । बुधबार भने बिहान ११ बजेदेखि नै बयान शुरु भएपनि आलमले ३२ वटा मात्रै प्रश्नको जवाफ दिएका जिल्ला अदालत रौतहट स्रोतले जानकारी दियो ।

अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश दीपक ढकालले आलमसँग २७ चैत २०६४ मा भएको बम विस्फोट, बम विस्फोटमा भएका घाइते, घाइतेको उपचार तथा घाइतेलाई जलाएर मारिएको विषयमा प्रश्न सोधेका थिए । तर, आलमले भने उक्त दिन त्यहाँ बम विस्फोट नै नभएको भनेर सबै प्रश्नमा इन्कारी बयान दिएका स्रोतले जानकारी दियो ।

बुधबार बयान नसकिएका कारण आलमलाई पुनः हिरासतमै फिर्ता पठाइएको छ । बिहीबार बिहान १० बजे उपस्थित गराउने गरी आलमलाई हिरासतमा फिर्ता पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

आलममाथि २८ चैत २०६४ मा तोकिएको संविधानसभा निर्वाचन विथोल्नका लागि बम बनाउँदै गर्दा अघिल्लो दिन नै बम विस्फोट भएको र विस्फोटमा परी घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले सोमबार जिल्ला अदालत रौतहटमा अभियोगपत्र दायर गरी आलमसहितका १० जनाविरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरेको छ । यस्तै, उक्त प्रकरणमा १ जनाविरुद्ध घटनाको मतियार बनेको अभियोगमा मुद्दा दायर गरेको छ ।

बम विस्फोट र घाइतेलाई इटाभट्टामा जलाएको प्रकरणमा कूल ११ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा आलमबोहकका अन्य १० जना अभियुक्त भने अझै फरार छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार