कार्तिक २३, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १६ नेता तथा कार्यकर्ता बाजुराबाट पक्राउ परेका छन् ।
बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट शुक्रबार दिउँसो रोल्पा जिल्ला गंगादेव गाउँपालिका-३ जिनावाङ घर भएका विप्लव नेकपाका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
ओलीलाई गत बैशाख ६ गते सांगठनिक कामको शिलसिलामा खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट पक्राउ गरेको थियो ।
उनलाई संगठित अपराध, विष्फोट, हा’तह’तियार तथा खर’खजना र राजद्रोहको अभियोग लगाइएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै ओलीलाई गत जेठ २४ गते रिहा गर्न आदेश दिएको थियो ।
रिहा लगतै उनलाई पुनः पक्राउ गरेर सुनसरी लागिएको थियो । ओलीलाई सुनसरी जिल्ला अदालतले गत असार २४ गते साधारण तारिकमा रिहा गरेको थियो ।
यस्तै पक्राउ पर्नेहरुमा डम्बर सुनार, नरेश शाही, दीपक प्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा,उदय कशेरा, राजेश कुमार शाही, डबल बहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक, सृष्टि सिंह छन् ।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।