• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानका जनप्रतिनिधिले ५५ लाखसम्मका गाडी प्रयोग गर्छन्


कार्तिक २४, सल्यान । जनताको लामो संघर्ष र त्यागपछि आएको संघियता र स्थानीय तहमा आएका जनप्रतिनिधिले अब जनतालाई राम्रो खालको सेवा सुविधा दिन्छनकी भन्ने आशा जनतालाई थियो । तर त्यो आशा निराशामा परिणत हुने होकि भन्ने आशंका गर्न थालिएको छ ।

किनकि जनताको जिबन उहि र जनताले चुनेका जनप्रतिनिधिको जिबनस्तर आकाश पातलको हुँदै गएको छ । नागरिकको सेवकभन्दा सुविधाभोगी शासकको रूपमा देखापर्न थालेका जनप्रतिनिधिहरू स्थानीय तहमा आएपछिको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा परेको छ ।

सल्यानका स्थानीय तहका प्रमुखहरुले मात्रै ३७ लाखदेखि साढे ५५ लाखसम्मका गाडी प्रयोग गरेको लेकाली अनलाइनलाई तथ्य प्राप्त भएको छ । बागचौर नगरपालिकाका प्रमुखले ५५ लाख ५० हजार पर्ने महेन्द्रा कम्पनीको एस ५ स्कार्पियो प्रयोग गर्छन् ।

त्यसैगरी बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिका प्रमुखहरुले ५२ लाख पर्ने एस ५ कै स्कार्पियो प्रयोग गर्छन् । उता दार्म, कुमाख, छत्रेश्वरी र कपुरकोट गाउँपालिकाका प्रमुखहरुले करिब ४३ लाख पर्ने एस १० को स्कार्पियो प्रयोग गरका छन् ।

शारदा नगरपालिका प्रमुखले अहिले बजार मुल्य ४२ लाख पर्ने एस ६ को स्कार्पियो प्रयोग गर्दछन् । शारदामा जनप्रतिनिधि नआउदै ४ वर्ष अघि खरिद गरिएको गाडी हो भने अन्य स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि खरिद गरिएका गाडी हुन् ।

सिद्ध कुमाख गाउँपालिका प्रमुखले ३७ लाख ३० हजार पर्ने स्कार्पियो प्रयोग गर्दथे । तर उनको स्कार्पियो केहि समय अघि अज्ञात समुहले आगजनी गरेर पुर्न रुपमा क्षेती भएको छ । अहिले उनले आफ्नै मोटरसाइकल प्रयोग गरिरहेका छन् ।

केहि स्थानीय तहमा प्रमुखले मात्रै प्रयोग गर्ने गाडी छन् भने बागचौर, छत्रेश्वरी र कुमाखमा उपप्रमुखले पनि गाडी लिएका छन् । बागचौरमा ३० लाखभन्दा बढी पर्ने टाटा कम्पनीको जेनन छ । छत्रेश्वरीमा २४ लाख ४५ हजार पर्ने बोलेरो पिकप छ । छत्रेश्वरीमा उपाध्यक्षलाइ बाइक पनि दिइएकाे छ । जुन समय समयमा उनका छाेराले प्रयाेग गर्दछन् ।

कुमाखमा भने भाडाको गाडी लिइएको छ । जसको भाडा मात्रै एक वर्षमा ३ लाख २२ हजार ८ सय ३० रुपैया सकिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार