• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा पनि विप्लव निकट विद्यार्थीले जलाए भारतकाे नयाँ नक्सा


कार्तिक २४, सल्यान । भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा सरकारद्वारा प्रतिबन्धित नेकपा निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी सल्यानले पेदिखोला, त्रिवेणी, दार्मा लगाएतका ठाउँमा विरोध प्रदर्शन गरेकाे छ । प्रदर्शनका क्रममा विद्यार्थीहरूले भारतले सार्वजनिक गरेकाे नयाँ नक्सा जलाएका छन् ।

उनिहरूले विद्यालयमा पुगेर काेणसभा समेत गरेका छन् । पेदिखाेलमा भएकाे कार्यक्रममा संगठनका पुर्व काेषाअध्यक्ष तथा हालका सहसंयाेजक राजेन्द्र खड्काले सम्बाेधन गरेका थिए । संबाेधनका क्रममा उनले नेपाल विरुद्व हुने विभिन्न गतिविधिहरुका विरुद्व लड्न विद्यार्थीहरूलाइ आह्वन गरेका छन् ।क्रार्यक्रमकाे संचालक अखिल क्रान्तिकारीका सचिवालय सदस्य दिपक मोहन र जिल्ला सदस्य अभिषेकले गरेका थिए ।

त्यस्तै अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले सिद्धनाथ विज्ञान क्याम्पस, स्थानीय ट्राफिक चोक र जिल्ला प्रहरी कार्यालय छेउबाट छुट्टाछुट्टै र्याली निकालेको थियो ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नाे नयाँ नक्सामा समावेश गरेको विरोधमा निकालिएका तीन वटै र्याली मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बबरजंग सिंह र कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेका थिए । प्रदर्शनको नेतृत्व अखिल क्रान्तिकारीका क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहले गरेका थिए ।

भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा सत्तारुढ र प्रतिपक्षी विद्यार्थी संगठनहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् । विप्लव निकट विद्यार्थीले अछाम, कालिकोट, उदयपुर, सुनसरी, झापा लगायत देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको जनाएको छ

यसैबिच प्रदर्शनमा उत्रेका नेकपा निकट विद्याथीहरुलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । प्रदर्शनका क्रममा काठमाण्डौं माईतीघरबाट ४२ जना भन्दा बढी विद्यार्थी पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिराफ्तार गरिएका विद्यार्थीहरुलाई सिंहदरबार वृत सहित अन्य विभिन्न प्रहरी ईकाईमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार