सल्यानमा उपनिर्वाचनको लागि नेकपा र काँग्रेसले उमेदवार टुंगो लगाए


कार्तिक २५, सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा आगामी मसिंर १४ गते हुन गैरहेको उपनिर्वाचनको लागि सत्ताधारी नेकपा र नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्ला कमिटी सदस्य धर्मे बुढोथोकी ‘ज्वाला’लाई उमेदवारको टुंगो लगाएको हो । उनलाई नेकपा कुमाख गाउँपालिकाको तर्फबाट सवैसम्मत रुपले सिफारिस गरिएको थियो ।

त्यस्तै नेपाली कांग्रेसले भने यस अघि नै उम्मेदवारको टुङगो लगासकेको छ । यस अघि निर्वाचनमा पराजित भएका खड्क बहादुर बोहरालाई सिफारिस गरेको पार्टी जिल्ला सभापति गणेश चन्दले बताए ।

स्थानीय तहको निर्वाचनमा बोहराले १ सय ८० मत प्राप्त गरेर तत्कालिन माओवादीबाट पराजित भएका थिए । माओवादीबाट निर्वाचित भएका वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा चयन भएसँगै यहाँ  वडाअध्यक्ष पद रिक्त छ ।

उपनिर्वाचन हुन लागेको कुमाख गाउपालिका –५ मा १ हजार ८ सय ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । उपनिर्वाचनका लागि मतदान केन्द्र समेत तोकिएको छ ।

यहाँ मतदान केन्द्र १ र मतदान स्थल २ वटा तोकिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार