• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

मेडिकल कलेजले १५ दिनभित्र अवैध शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउँछौं : शिक्षामन्त्री


कात्तिक २५, काठमाडाैं । विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिए।

१५ दिनभित्र विद्यार्थीका गुनासा समाधान नगरे ठगी मुद्दा चलाउँछौं,’ मन्त्री पोखरेलले भने।

शिक्षा मन्त्री पोखरेलका अनुसार सोमबार गृह मन्त्रालयलाई यसबारे पत्राचार पनि गरिएको छ।

चितवन मेडिकल कलेजले विद्यार्थीबाट उठाएको अवैध शुल्क कात्तिक १८ गतेभित्र फिर्ता वा समायोजन गर्ने बताए पनि कार्यान्वयनमा भने ल्याएको छैन।

गण्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतबाट पनि सञ्चालकले अवैध शुल्क लिएपछि विद्यार्थीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकले प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने पनि बताए। ‘हामी शुल्क फिर्ताका लागि कडाइसाथ लागेका छौं,’ उनले भने, ‘विद्यार्थी र अभिभावकले पनि सहयोग गर्नुपर्छ।’

यसैबीच, मन्त्री पोखरेलले डडेल्धुरामा अनसनरत् डाक्टर गोविन्द केसीलाई आन्दोलन स्थगित गर्न अनुरोध गरेका छन्। डाक्टर केसीले राखेको प्रमुख माग सम्बोधन गर्न संसदले मात्र सक्ने भन्दै पोखरेलले तत्काल अनसन फिर्ता लिनुपर्ने बताए।

‘मुलुक कालापानीमा मिचिएको भूमि फिर्ताका लागि लडिरहेका बेला उहाँले आन्दोलन फिर्ता लिएर राष्ट्रियताको पक्षमा सरकारलाई सघाउनुपर्छ,’ मन्त्री पोखरेलले भने।

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार