• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

भारतविरुद्ध काठमाडौंमा आन्दोलन हुँदा कालापानीका अध्यक्षले गरे मन दुख्ने कुरा


कार्तिक २७, काठमाडौं । भारतले कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समावेश गरेपछि काठमाडौंमा दैनिकजस्तो भारतविरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ। राजनीतिक दलका भ्रातृ संगठनदेखि नागरिक समाजले पनि भारतले नेपाली भू-भाग मिचेको भन्दै आन्दोलन गर्दै आएका छन्।

तर कालापानी र लिपुलेक वरिपरि बस्ने नेपाली भने काठमाडौंमा आन्दोलन हुँदा कतै सीमानामा रहेका नेपालीमाथि आक्रमण हुन्छ कि भनेर त्रसित छन्।कालापानी र लिम्पियाधुराको बीचमा कुटी, गुञ्जी र छाङरु गरी तीन वटा गाउँ पर्दछन्। याे क्षेत्र दार्चुलाको ब्यास गाउँपालिकाको वडा नम्वर १ मा पर्छ।

ब्यास गाउँपालिकाका अध्यक्ष  दिलिपसिंह बुढाथोकीले स्थानीयको सुरक्षाको ग्यारेन्टी गर्न पटक-पटक सरकारको ध्यानाकर्षण गराएको बताएका छन्। ‘काठमाडौंमा आन्दोलन हुँदा सीमानामा केही हुन्छ कि भनेर यहाँका नागरिक निकै त्रसित भएका छन्’ काठमाडौं प्रेससँग बुढाथोकीले टेलिफोनमा भने, ‘कालापानी क्षेत्र रहेको वडा नम्बर १ का जनता अहिले त्रसित मुद्रामा बस्न बाध्य छन्।’

त्यसो त सीमा मिचेको भनेर काठमाडौंमा  प्रदर्शन भए पनि नेताहरुले त्यसविरुद्ध जे जसो गरेपनि सीमामा भारतले नेपाली भूभागमै आएर तारजाली र पर्खाल लगाएको उनको दाबी छ। ‘भारतले मनोमानी र एकपक्षीय रुपमा नेपाली साँध मिच्दै तारजाली लगाएको छ’ उनले भने, ‘काठमाडौंमा आन्दोलन गरेर के गर्ने, फिल्डमा समस्या त हामीले भोगेका छौँ ।’

काठमाडौंमा आन्दोलन चर्कँदा कतै भारतीय सुरक्षाकर्मी सीमानाका नेपाली बस्तीमा पसेर केही गर्छन् कि भन्ने डर स्थानीयमा देखिन्छ। ‘कतै भारतीय सुरक्षाकर्मी आएर उठिबास त लगाउने हैन भन्ने डरमा हामी बाचिरहेका छौँ’ स्थानीय नरेन्द्र तिंकरीले भने।

बुढाथोकीले सीमानामा नेपाली सुरक्षाकर्मी नहुँदा नेपालीहरु वरिपरि जान पनि डराउने बताए। ‘सीमानामा भारतीय सुरक्षाकर्मी मात्रै छन्’ उनले भने, ‘अब १२ महिना नै स्थायी प्रहरी पोष्ट नबनाएसम्म हामी सीमामा जान पनि सक्ने अवस्थामा छैनौँ ।’

ब्यास गाउँपालिकाले नेपाल–भारत सीमा कालापानी पुग्ने पैदल मार्ग निर्माण गरेको छ। गत भदौ महिनामा कालापानीमा मन्दिर निर्माण गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि निर्माण अघि बढ्न नसकेको उनले बताए। ‘गाउँपालिकाले मन्दिरका लागि बजेट छुट्यायो । निर्माणको काम सुरु गर्न खोज्दा भारतीय सैनिकले अवरोध पुर्‍याए’ बुढाथोकीले भने, ‘हामीले केही गर्न सक्ने अवस्था यहाँ छैन, कूटनीतिक पहल सरकारले गर्न आवश्यक छ।’

भारत हुँदै बेसी झर्नेलाई थप त्रास

कालापानी र लिपुलेक क्षेत्रमा अहिले हिउँ पर्न थालेको छ। यो हिउँदमा त्यहाँका बासिन्दाहरु मौसमी बसाई सरेर धार्चुला जान्छन्।

कालापानी र लिम्पियाधुराको बीचमा कुटी, गुञ्जी र छाङरुका नागरिकहरु ६ महिना गाउँ र ६ महिना सदरमुकाममै बस्ने गर्छन्। तर यसरी बसाई सर्दा पनि भारतकै बाटो प्रयोग गर्नुपर्ने हुँदा उनीहरु थप त्रासमा देखिन्छन्। ‘नेपालबाट सदरमुकाम झर्ने बाटो नभएकाले भारतको बाटो हुँदै बसाइ सर्नुपर्ने हुन्छ’ स्थायनी तिंकरीले भने, ‘यस्तो अवस्थामा हामीले कसरी बेसी झर्ने, कतै हामीमाथि नै आक्रमण त हुने हैन भन्ने डर छ।’

कुटी, गुञ्जी र छाङरुबाट सदरमुकाम आउन भारतको बाटो हुँदै तीन दिन लाग्छ। परिवार, वस्तुभाउ, खानेकुरासँगै ल्याउनुपर्छ। छाङ्रुमा रहेको सीतापुल तरेर भारतको ग्यारवेङ, बुदी, लामारे, मालिका हुँदै लखनपुर पुगिसकेपछि बल्ल गाडी चढेर दार्चुला सदरमुकाममा पुगिन्छ।

यहाँका स्थानीयले दैनिक उपभोग्य वस्तुहरु भारत गएर किनमेल गर्छन्। तर केन्द्रमा आन्दोलन हुँदा सामान किन्दा पनि असुरक्षा महसुस गर्ने गरेको अध्यक्ष बुढाथोकीले बताए। ‘कुटी, गुञ्जी र छाङरुमा बसोबास गर्नेको रोजीरोटी नै भारतमा निर्भर छ’ उनले भने, ‘उनीहरुलाई नेपालभन्दा भारत नजिक पर्ने भएकाले नुन, तेलदेखि सबै कुरा भारतबाटै किनेर ल्याउनु पर्छ। आन्दोलन चर्किँदा भारतबाट कुनै प्रतिकार हुन्छ कि भनेर उनीहरु त्रसित भएका छन्।’

काठमाण्डु प्रेस

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार