• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

पहिलाे श्रीमतीबाट सन्तान भएन भनेर दाेस्राे बिहे गर्ने पनि ओली सरकारमा मन्त्री बने


मंसिर ५, काठमाडौं । पहिलाे श्रीमतीबाट सन्तान भएन भनेर दाेस्राे बिहे गर्ने पनि केपी ओली नेतृत्वकाे सरकारमा मन्त्री बनेका छन् । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पूर्व ताप्लेजुङकी कार्यकर्तासँग दोस्रो बिहे गरेका छन् । प्रथम पत्नीबाट सन्तानको जायजन्म नभएको बताउँदै भट्टले दोस्रो बिहे गरेका हुन् ।

त्यसैगरी उनले आजभन्दा ३७ वर्ष पहिले प्रचण्डलाइ उपहारस्वरुप एउटा पेस्तोल दिएका थिए । अहिले प्रचण्डको सदभाव पाएर भट्ट मन्त्री बन्न पुगेका छन् ।

भारतको गोरखपुरमा २०३८ सालमा युवक संगठनको भेला हुँदै थियो । संगठनका केन्द्रीय अध्यक्ष थिए प्रचण्ड । भेलामा केन्द्रीय सदस्य लेखराज भट्टले प्रचण्डलाई ‘जनयुद्धको सफलताका लागि’ एउटा पेस्तोल उपहार दिए । र, त्यहीबेलादेखि प्रचण्ड र लेखराजवीच बढेको आत्मीयता अहिलेसम्म टुटेको छैन ।

प्रचण्डको विश्वासपात्र मानिने भट्ट तेस्रोपटक मन्त्री बनेका छन् । केपी शर्मा ओली नेतृत्वमा पुनर्गठित मन्त्रिपरिषदमा पनि उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ ।

विसं. ०१६ सालमा डोटीको सम्पन्न परिवारमा जन्मिएका र २०२१ सालमा कैलालीको अत्तरियामा बसाइँ सरेका भट्टसँग यसअघि श्रम मन्त्री र वाणिज्य तथा आपूर्ति मन्त्री बनेको अनुभव छ ।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा लेखराजलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका थिए । ०५१ सालमा बागबजारको भित्तोकाण्डमा डा. बाबुराम भट्टराईमाथिको आक्रमण योजना विफल पारेको श्रेय पाउने गरेका लेखराजलाई डा. भट्टराईले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिएका थिए ।

कम्युनिष्ट पार्टीको सदस्यता ०२३ सालमा लिएका लेखराजले शाही परिवार धीरेन्द्रको लगानी रहेको भनिने कैलालीको लक्ष्मीपत्ता उद्योगमा मजदुर आन्दोलनको नेतृत्व गरे । लेखराज ०५२ सालदेखि प्रचण्ड नेतृत्वको जनयुद्धमा पूर्णकालीन रुपमा लागे । ०५७ सालमा उनी तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बने । जनयुद्धको समयमा हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पश्चिम व्युरो इञ्चार्ज हुँदा लेखराज त्यसको कार्यालय सचिव थिए ।

उनी ०५४ सालमा फुन्टिवाङ बैठकपछि सेती-महाकाली व्युरो इञ्चार्ज र ०६० सालमा माओवादीको सेती-महाकाली जनसरकार प्रमुख पनि बने । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको हाल उनी स्थायी समिति सदस्य र सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज छन् ।

भट्ट ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट र ०७४ सालमा प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् ।

उद्योगलाई एक नम्बरको मन्त्रालय बनाउँछु

यसैबीच  बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन् । पुरानो ढर्राले नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’ सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने उनले बताए । कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भनेर उनले कर्मचारीहरुलाई सचेत गराए ।

दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका उनले भने, ‘अहिलेसम्म मन्त्रालयले पहिल्याएको समस्या समाधान गर्दै अघि बढ्नुपर्छ । सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन होस् । यो मन्त्रालयमा अनुशासनहीन काम नहोस् ।’

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार