• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

भारत र चीनसँगको सीमा अध्ययन गर्न सरकारले बनायो निरीक्षण समिति


मंसिर ६,काठमाडाैं ।  भारतले नेपाली भूमि कालापानी अतिक्रमण गर्दै आफ्नो नयाँ नक्सामा समेटेपछि सरकारले दुई देशको सीमा अध्ययन गर्न समिति गठन गरेको छ । नेपाल–चीन सीमा अध्ययन गर्न छुट्टै समिति पनि गठन गरेको छ । मन्त्रिपरिषद्को ३ मंसिरको बैठकले दुवै छिमेकी देशसँगको सीमा अध्ययन गर्न सीमा निरीक्षण समिति गठन गरेको हो ।

सरकारले समितिमा को–को छन् भन्ने गोप्य राखेको छ । दुवै समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ । ‘दुवै छिमेकी देशको सीमा निरीक्षण गर्न समिति गठन भएको छ । तीन महिनाको समय तोकिएको छ,’ बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने ।

कालापानी विवाद उत्कर्षमा पुगेका वेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारतसँग वार्ताका लागि अनौपचारिक च्यानल (ट्रयाक टु) खुला गरेको बताएका छन् । १६ कात्तिकमा भारतले जारी गरेको नयाँ नक्सामा कालापानी गाभेपछि परराष्ट्र मन्त्रालयले पत्रमार्फत र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले विदेशसचिव विजयकेशव गोखलेलाई भेटेर संवादका लागि आग्रह गरेका छन् । भारतले त्यसको जवाफ पठाएको छैन ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले पनि भारत वार्ताका लागि तयार रहेको बताएका छन् । बिहीबार दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा रविसले भने, ‘सीमाविवादका सन्दर्भमा छलफल गर्न विदेशसचिवहरूको विद्यमान संयन्त्र छ । तर, बैठकको मिति तय हुन बाँकी छ । तय भएपछि जानकारी दिनेछौँ ।’

 

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार