मंसिर ६, काठमाडौं । आगामी मंसिर १४ गते देशका ५२ स्थानमा हुने उपनिर्वाचनका लागि एउटा तस्बिर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । उम्मेदवारका साथै राजनीतिक दल, शुभचिन्तक, समर्थक लगाएत भोट माग्न व्यस्त भएका बेला उक्त तस्बिरले देशमा भएको तितो यथार्थ प्रस्तुत गर्दै आ-आफ्नो पार्टीलाई भोट दिन आग्रह गरेका छन् ।
तस्बिरमा देखिएअनुसार नेपाल कम्युनिस्ट पार्टीले काँग्रेस भित्रको तितो यथार्थ पोखेर सुर्यमा मतदान गर्न भनेको छ भने काँग्रेसले पनि नेकपा भित्रको तितो यथार्थ पोखेर रुखमा भोट हाल्न भनेको छ ।
बलात्कार अभियोगमा पुर्पक्षका लागि जेलजिवन बिताउँदै गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र जिउँदै मान्छे ईट्टाभट्टामा जलाउँने नेपाली कांग्रेसका निलम्बित सांसद महमद आफताव आलमको घटनालाई जोडेर समर्थकहरुले विरोध एवं मत माग्दै गरेको तस्बिरमा देखिन्छ ।
नेकपाको समर्थित टिसर्टमा लेखिएको छ, “सरर पानी घट्टमा, रुखमा भोट नहाल्नु कसैले जिउँदै पोल्छन् इट्टाभट्टामा ।” त्यस्तै काँग्रेस समर्थित टिसर्टमा लेखिएको छ, “सरर पानी घट्टमा, सुर्यमा भोट नहाल्नु कसैले दारु खाँदै बलात्कार गर्छन् त्यसको सट्टामा ।”
सरर पानी घट्टमा भन्ने पुरानो नेपाली लोक गीतको चर्चित भाका हो ।