राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा छ : रमेश मल्ल


मंसिर ९, सल्यान । अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा निकट यूवा विद्यार्थी विशेष कमिटि अध्यक्ष रमेश मल्लले संविधानले नै समाजवाद परिकल्पना गरेकोले यूवाहरुले समाजवादी ब्यवस्थाको आधार तयार गर्न हरेक क्षेत्रमा रचनात्मक भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् । सल्यानकाे दार्मा गाउँपालिका फारुलामा पालिकास्तरीय युवा भेला प्रशिक्षण र युवा सम्मान कार्यक्रममा बाेल्दै नेता मल्लले राष्ट्र निर्माणको जिम्मेवारी यूवाको काँधमा आएकोले  मेहनत र पौरख यही प्रयोग गर्ने समय भएको बताए ।

कार्यक्रमका प्रमुख आतिथी रहेका मल्लले बेरोजगारी, अशिक्षा तथा अन्य थुप्रै कारणले युवाहरुमा बढिरहेको निरासा, पलायन र गलत बाटोमा लाग्ने अवस्थाबाट युवाहरुलाई रोक्न युवा संघले विशेष भूमिका खेल्नुपर्ने बताए । युवा संघले अबका युवाहरुलाई आत्मनिर्भर, स्वाभिमानी र समाजका लागि योगदान गर्न तयार हुने देशभक्त युवाहरु तयार गर्न प्रशिक्षित गर्नुपर्ने भन्दै मल्लले त्यसका लागि योजनाबद्ध कार्यक्रम र जागरण अभियानहरु गाउँ–गाउँमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष तथा नेकपा कर्णाली प्रदेश कमिटि सदस्य निमवहादुर केसी ‘अरुण’ले स्थानीय, प्रदेश र संघ सरकारले  अघि सारेका विभिन्न रोजगार, स्वरोजगारमूलक कार्यमा सहभागि हुन आह्वान गरे । उनले यूवाहरुले स्वदेशमा भएका संभावनालाई रोजगारीमा वदल्नु पर्ने बताए । उनले भने, ‘स्थानीय स्तरमा पनि केही प्रयास भएका छन । यूवा सक्रियता आवश्यक छ ।’

युवा नेतृत्वको विकास र सहभागिताका लागि आफूहरुले गाउँपालिकाको तर्फबाट कार्यक्रमहरु सञ्चालन गरिरहेको केसीको भनाई छ । उनले भने, ‘हामीले स्थानीय तहबाट हाम्रो स्रोत, सामथ्र्य र अवस्था अनुसार युवालक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । हाम्रो पहुँच, स्रोत र सामथ्र्यले मात्रै पुग्दैन । समग्र राज्यका साथै युवासँग सम्बन्धित संस्थाहरुले पनि जागरण पैदा गर्ने, संगठित गर्ने र राष्ट्रहितप्रति समर्पित गराउने कार्यक्रमहरु ल्याउनु आवश्यक छ ।’

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शोभाराम भण्डारीले यूवाहरुलाई उत्पादनमा नजोडे सम्म समृद्धि नआउने  भएकाले सगठित भएर वर्तमान कम्युनिष्ट सरकार संग उत्पादनमा सहकार्य गर्ने बताए । उनले भने, ‘राष्ट्रिय युवा संघले संगठनको एकता प्रक्रिया टुङ्ग्याएर देशव्यापी रुपमा जनजागरणको काममा लागिरहेको छ ।’

उनले देशका जल्दाबल्दा विषय, राष्ट्रिय स्वाधीनता, राजनीतिक, सामाजिक सवालहरुमा आवाज उठाइरहेको भन्दै मातृपार्टीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल बनाउन लागिपरेको बताए । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्यहरु अन्नत प्रसाद शर्मा, चन्द्रवहादुर रावत, पुतला खड्का लगायतले सम्वोधन गरेका थिए ।

जिल्ला अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएकाे कार्यक्रमको सञ्चालन रुपक वुढाले गरेका थिए । कार्यक्रममा सहभागि युवाहरुले उत्पादनमा यूवा सहभागिता र वैदेशिक पलायन रोक्न आग्रह गरे । यसैविच नेकपा दार्मा गाउँ कमिटि र युवा संघले  यूवा नेता रमेश मल्ललाई सम्मान समेत गरिएको  थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार