मंसिर ९, दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद लिपुलेक, कालापानी र लिम्पियाधुराले देखाइसकेको आरोप लगाएका छन्।
दाङ क्षेत्र नम्बर ३ ‘ख’ को उपनिर्वाचन अन्तर्गत श्रीगाउँमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद समाधानका लागि पहल गर्न नसकेको आरोप लगाएका हुन्।
भारतसँगको सीमा विवादको समस्या हल गर्न ठोस पहल गर्न नसक्नुले नै प्रधानमन्त्री ओली राष्ट्रवादी नभएको पुष्टि गरेको देउवाको दाबी छ।
‘प्रधानमन्त्री ओली कालापानीमा लम्पसार परिरहेका छन् ,’उनले भने, ‘त्यहीँ कुराले देखाउँछ उनी राष्ट्रवादी होइनन्।’ देउवाले २०७४ सालको निर्वाचनमा राष्ट्रवाद र जनजातिलाई अधिकार दिने नाममा ओलीले भोट लिएपनि कुनै पनि अधिकार दिलाउन नसकेको आरोप लगाए।
देउवाले कांग्रेसले मात्रै सबैलाई अधिकार सम्पन्न बनाउन सक्ने दाबी गरे। महिला, आदिवासी जनजाति, थारूलगायतलाई आरक्षण दिएको पनि उनको भनाइ थियो।
उनले सरकारले मच्याइरहेको लुटतन्त्र रोक्न कांग्रेसलाई जिताउनु पर्ने बताए। उनले कम्युनिष्ट सरकारले करको भार बोकाएर जनतालाई आजित बनाएको बताए। सभापति देउवाले वर्तमान सरकारलाई सच्याउन पनि कांग्रेसलाई जनताले जिताउन आवश्यक रहेको बताए।
उनले वर्तमान सरकारले विकास निर्माणका नाममा उपभोक्ता समितिमार्फत आफ्ना कार्यकर्तालाई पैसा बाँडेर सरकारी कोषमा लुटतन्त्र मच्याएको आरोप लगाए। उनले देशको स्वतन्त्र न्यायपालिकाभित्रपनि सरकारले हस्तक्षेप गरिरहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले लामो संघर्षपछि प्राप्त उपलब्धिहरुलाई ओली सरकारले उल्टाउन खोजिरहेको आरोप लगाए।