सल्यानको रिममा एक करोडको खानेपानी योजना अन्तिम चरणमा आउँदा अलपत्र


खकेन्द्र केसी

मंसिर ९, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका –५ रिममा खानेपानी निर्माण कार्य अन्तिम चरणमा हुँदा योजना अलपत्र परेको छ । तत्कालिन गरिबी निवारण कोषको अनुदान र स्थानीयको श्रमदानमा निर्माण हुन थालेको भालुधुरा लिफ्ट खानेपानी योजना ३ वर्षदेखि अलपत्र परेको हाे ।

करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी योजना अलपत्र परेपछि स्थानीयले खानेपानी समस्या भोग्दै आएका छन् । उपभोक्ता समितीको लापरबाहीले खानेपानी योजना अलपत्र परेको स्थानीय बताउछन् । योजना अलपत्र पर्दा रिमका २ सय २७ परिवार प्रभावित भएका छन् । जहाँ खानेपानी ल्याउनको लागी प्रतिघरले १३ रुपैयाँ संकलन गरेका थिए ।

यो योजनामा गरिबी निवारण कोषले ४४ लाख रुपैयाँ खर्चिएको छ भने सांसद विकास कोषमार्फत १२ लाख, साबिक गाविस कार्यालयको १० लाख, स्थानीय ३ वटा सामुदायीक वनले ३ लाख रुपैयाँ खानेपानी ल्याउनको लागि खर्च गरिसकेका छन् ।

रिम बजारदेखि १ किलाेमिटर तलको मुहानबाट पानी ल्याउनेगरी योजना निर्माणको काम सुरु गरिएको थियो । योजना अलपत्र परेपछि निर्माण गरिएका सिमेन्टका ५ ट्यांकी अलपत्र परेका छन् भने पानी नहुँदा तापक्रमले फुट्ने अवस्थामा छन् ।

कपुरकोट ५ का वडा अध्यक्ष याम कुमार बस्नेतले उपभोक्ता समितीकै लापरबाहीको कारण निर्माण ढिलाई भएको बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले उपभोक्ता समितीले पैसामा जथाभाबी प्रयोग गरेर सकाएकाे र काम नगरेको आरोप लगाए । काम गर्नलाई केहि मुख्य सामानहरु नभएको उनको भनाई छ । अब तत्काल काम पुरा नभए आफु एक्सनमा जाने उनको चेतावनी छ ।

उता उपभोक्ता समितीले भने विद्युतको मिटर अभाव हुँदा काम सम्पन्न हुँन नसकेको बताएको छ । करिब १ करोड भन्दा बढी रुपैयाँ खर्च भैसक्दा पनि विद्युत मिटर नहुँदा योजनामा अलपत्र परेको उपभोक्ता समितीले जनाएको छ ।

खानेपानी उपभोक्ता समिति अध्यक्ष टीकाराम केसीले पहिले बिजुलीको लाइन विस्तार गर्न ढिलाई भएको र पनि मुहान दर्तामा समस्या भएकाले योजना अलपत्र परेको बताए । मिटर ल्याउने प्रक्रिया सुरु भैसकेको भन्दै उनले अब एक महिनाभित्रै योजनाको काम सुरु हुने बताए ।

उपभोक्ताबाट अझै ३० लाख रुपैयाँ संकलन गर्न बाँकी भएकाले पनि योजनामा ढिलाई भएको उनले जानकारी दिए । गरिबी निवारण कोषले अनुदान दिएको ९ लाख रुपैयाँ समितिको खातामा मौज्जात रहेको उनको भनाइ छ ।

यता नेपाल विद्युत प्राधिकरणले आफुहरुले समयमा नै विद्युत लाइन पुर्याइदिएको र उपभोक्ता समितीले मिटर लिन चासो नगरेको बताए । प्राधिकरण प्रमुख अर्जुन बुढाले भने, ‘६ महिना अघिनै हामीले लाइन पुर्याइदियौँ । त्यसपछि उहाँहरु मिटर लिन आउनु भएन, हामीलाई सम्पर्क पनि गर्नु भएन् ।’ मिटर लिन गाह्रो नभएको भन्दै उनले सजिलो तरिकाले वितरण हुने उनले लेकाली अनलाइनलाइ बताए ।

यसैबीच रिमकै एकदर्जन घरपरिवारलाई लक्षित गरेर २०५२ सालमा एसियाली विकास बैंकको सहयोगमा ३ धारासहितको खानेपानी योजना निर्माण गरिएको थियो । तर उक्त योजनामा प्रयोग गरिएको बैरीगैरा खानेपानी मुहानको पानी जग्गाधनीले रोकिदिएपछि स्थानीय बासिन्दाले खानेपानी समस्या भोग्न बाध्य भएका छन् ।

उक्त खानेपानीको मुहान रोक्दा सात वर्षदेखि गाउँमा खानेपानी अभाव भइरहेको स्थानीय खड्क केसीले बताए । सञ्चालनमा रहेको योजनाको मुहान व्यक्तिले कब्जा गरेपछि आधा घण्टा टाढाबाट पानी ल्याएर खानुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार