मंसिर १०, काठमाडौं । बरिष्ठ पत्रकार तथा चर्चित साहित्यकार विनय कसजूको निधन भएको छ। राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष समेत रहिसकेका वरिष्ठ पत्रकार कसजूको मंगलबार निधन भएको हो।
उनको मंगलबार दिउँसो २ बजे मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको साहित्यकार गोविन्द गिरी प्रेरणाले जानकारी दिएका छन्। ६९ वर्षीय कसजू केही समयदेखि निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।
उनले लेखन, सम्पादन र साहित्यिक गतिविधिले नेपाली साहित्यलाई ठूलो योगदान दिएका थिए। उनलाई ‘बालसाहित्य’ को क्षेत्रमा एउटा ‘ब्राण्ड’ नै मानिन्थ्यो। उनी कक्षा ६ देखि नै विद्यालय तथा गाउँ घरमा आयोजना हुने साहित्यिक कार्यक्रमहरुमा सक्रिय सहभागी भएका थिए। कसजू एक कुशल लेखक, पत्रकार तथा सूचनाका हकका अभियान्ता पनि थिए। उनले वि.सं. २०६५ सालदेखि २०६८ सालसम्म प्रमुख सूचना आयुक्तको रूपमा काम गरेका थिए।
उनी झलनाथ खनाल सञ्चारमन्त्री भएको समयमा राष्ट्रिय समाचार समिति (रासस) का लागि सञ्चालक समिति सदस्य भए। नेपाली बाल साहित्यको क्षेत्रमा उनका ३७ वटा पुस्तक प्रकाशित छन्। त्यस्तै, उनले पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई ध्यानमा राखेर ट्वीटर कथा सङ्ग्रहसमेत प्रकाशित गरे । लामो समय पाल्पाबाट सत्य साप्ताहिक र देउराली साप्ताहिकको सम्पादन प्रकाशन गरेका कसजुले ग्रामिण संचारको विकासका लागि पनि योगदान गरेका थिए ।
त्यस्तै, मनमोहन अधिकारी प्रधानमन्त्री भएको तत्कालिन एमालेको सरकार बनेको समयमा उनी नेपाल प्रेस काउन्सिलको सल्लाहकार पनि भएका थिए। उनले उच्चस्तरिय मिडिया सुझाव आयोग र इन्सेकको सल्लाहकार जस्ता थुप्रै संघसंस्थामा रहेर काम गरेका थिए। कसजूको निधनप्रति सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले श्रदाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक संजाल ट्विटरमा एक सन्देश लेखेर श्रदाञ्जली व्यक्त गरेका हुन्।