• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

चिल्लाे घस्दै


चिल्लो आङ दुख्यो ?
टाउको तन्कियो ?
छातिभित्र कट्कटी खायो ?
च्च ! च्च !! च्च !!

ओछ्यानमा सुकला होइस्योस्ला
खौँका सपनाहरु निचोरेर दिइस्सेको तेलमा
आगोमा आफ्नै व्यथा फुराएर ल्याएकी छु ।
आइस्यो ! आइस्यो ! म सदाझैँ चिल्लो घसाउन हाजिर छु ।

मेरो काखमा अड्याइस्यो हजुरको शिर
अभावको चुसाइले हाडछाला मिल्काइएको जो काख
मासुले भरिएको त्यो आङमा बिझाउन सक्छ है राजै ।

कता घसूँ चिल्लो ?
टाउको तिर ?
कसरी घुँघुरिएको कपाल
घरबार फाँडेर चख्ल्याइएको जस्तो कति चौडा ललाट

करोडौँका आशाहरु छेकेर कुँदिएका बान्की परेका आँखाहरु
कति मुलायम गाला
लोती झरेका कति राम्रा आहा
भलो नसुन्ने कान !

हातमा घसाइदिऊँ अब ?
लामो हात गर्दा गर्दा लम्बिएका कति लामालामा हातहरु
स्वार्थको अभिभारा बोक्दा बोक्दा कति खँदिलो काँध

कर्तुत उठाउँदा भाले उठेका यामानका पाखुरा
विरोधीहरुलाई धक्याउँदा धक्याउँदा धारिएको कुहिनो
विदेशी भीख माग्दामाग्दा थिलथिलो परेका हत्केला

सुशासनका कथाहरु लेख्दा लेख्दा तिख्रिएका यी औँलाहरुले
विधि पुर्यााएर देश भड्खालामा जगाइदिए हुन्छ
विधि बिना देश जोगाउन हुँदैन भन्ने महावाणी रट्दै
नक्कली विधिहरुको खात लाएर

यी औँलाहरु दुखुन्जेल
कति सही गरिस्योहोला कैयौँ टिप्पणी फाइलहरुमा
तत्पश्चात् कति महाजनहरुसँग हात मिलाइस्योहोला ।
पुग्यो राजै ?

अझै पुगेन ?
अब पेटतिर ?
सुलुत्त परेको
बाब्बा हो कति राम्रो पेट !

सित्तैको धनले फुपूको श्राद्ध गर्ने कल्याणकारी काममा हौसिएर
अजिर्ण होउन्जेल ज्यूनार गरिस्योहोला भुजा !

गुप्ताङ्गतिर ?
नाइँ राजै नाइँ !
हजुरको सुन्दरता जतिसुकै चुलिए पनि

मलाई त त्यो असाध्यै घिन डर लाग्छ हजुर
त्यता त चिल्लो नघसाम् क्यारे
लाखौँ अतृप्त सपनाहरु
त्यतै सडेर बाहिरैसम्म डुङ्डुङ्ति गन्हाइरहेको छ ।

कर नगरिस्यो
मेरा सारा सीमाहरु भत्किसकेको भए पनि
मभित्र कहिले नभत्कने एउटा शाश्वत् सीमा छ
जसको बारेमा हजुर पनि अनभिज्ञ नहोइसिनु पर्ने हो ।

कानुन ओछ्याएर कर्तव्यबाट विमुख भएसरि
उता फर्किस्यो त
आम्मै नि ! सबैका नजरहरु त यहीँ पो गाडिएका रैछन्
कति सिनित्त परेको पिठ्यूँ !

बरु गोडातिर ?
हस् हस् !
कति मोटाघाटा साँप्राहरु
कति पुष्ट तिघ्राहरु

रातबिरात कुदिसिन्छ देश बनाउने महान योजनामा
देश त बनाउनै नमिल्ने गरी बनाइस्यो हजुरले
त्यसरी सगरमाथा उचालिएको हजुरकै करामतले त हो
सगरमाथा निचोरेर मेचीकाली बहाएको हजुरले नै त हो

आहा कति सुन्दर पाइतालाहरु
आफ्नै सपना बलियो बनाउने धुनमा
कति कुल्चिए होलान् किचिमिची पारी यी पाइतालाहरुले
अरुहरुका निर्धा सपनाहरु !

मेरो हात नतानिस्यो न राजै !
बलजफ्ती नगरिस्यो त !
त्यता म मरिगए घसाउँदिन !

मलाई तर्साइरहन्छ एउटा सत्यतथ्य तीतो कथाले
आमाको कानमा फुसफुसाएर बा खसेको गोप्य कथा
जोकसैलाई नसुनाउन कसम खुवाउँदै
मेरै कानमा खुसखुसाएर अस्ति मात्र आमा खसेको भोग्य कथा

सुनिसिन्छ ?
बा पनि हजुरकै दरुबारमा एकजमानामा चिल्लो घसाउँथे रे
चिल्लो घसाउने क्रम उपक्रममा
कुनैदिन मेरो बा हजुरकी मुवाबाट बलात्कृत भएपश्चात्पैदा

भएको सन्तान रे हजुर त
म र हजुर साख्खै सहोदर भाइबहिनी रे !

एकछिटा रगत
दुःखको एक सर्को चीसो नपस्ने न्यानो महलभित्र खस्दा
अर्को छिटा रगत
सुखको एक धर्को घाम नपस्ने चिसो सिस्नाको झ्याङमा

उही धरती ओछ्याएर
सुख, आराम, ऐयासीले हजुरको ललाट उठ्दै जाँदा
अभाव, आतङ्क, अन्यायले मेरो कर्म फुट्दै रह्यो
र यो महलमा अलग स्वार्थले जुट्यो र मात्रै !
उही रगतका सन्तान पो हौँ त दाजै !

मलाई मेरै बाले मैले नजान्दै लाइदेछन् यो महलमा
उही चिल्लो घसाउने काम
हजुर चिल्लो घसाइँदा घसाइँदा चिल्लो हुँदै गइस्यो
म चिल्लो घसाउँदा घसाउँदा झन् झन् फुस्री हुँदै गएँ
हजुरको गाथ सुकोमल हुँदै जाँदा

म मरिचझैँ चाउरिँदै गएँ
हजुरले छुट्याइसिन्न यो अनुहार
हजुरले चिनिसिन्न यो पीडा
हजुरले बुझिसिन्न यो सीमा !

अब जानीबुझीकन पनि
कर नगरिस्योस् दाजै
साख्खै बहिनीले ?
आफ्नै दाइको गुप्ताङ्गमा ?
कसरी घसाउन सक्छे ?
चिल्लो ?

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार