मंसिर १४, सल्यान । सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ मा मतदान सुरू भएको छ । रिक्त वडा अध्यक्ष पदका लागी बिहान ७ : १५ बजेदेखि मतदान सुरु भएकाे हाे ।
चिसोका कारण बिहान मतदाताहरुको उपस्थिती कम भएपनि अहिले बिस्तारै मतदान स्थलमा मतदाताहरुको सहभागिता बढ्दै गएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले लेकाली अनलाइनलाइ बताए । उनकाअनुसार मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पहिलाे मत कसकाे ?
सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान केन्द्र (क) बाट सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ले पहिलो मत खसालेका छन् । यस्तै मतदान केन्द्र (ख) बाट मान बहादुर मल्लले पहिलो मत खसालेकाे मुख्य निर्बाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।
यहाँ (क) मतदान केन्द्रमा ९ सय ५२ र (ख) मतदान केन्द्रमा ८ सय ८७ मतदाता रहेका छन् । वडा अध्यक्ष पद लागि हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्क बहादुर बोहरा र राप्रपाको तर्फ बाट गोपाल शाहले उम्मेदवारी दिएका छन् । जसमा कुल मतदाता १ हजार ८ सय ३९ मतदाता रहेका छन् ।
देशभरी ५२ पदका लागि उपनिर्वाचन
यसैबीच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।
प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन। उपचुनावमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।