संखुवासभाको मकालुमा मतदाता नै आएनन्


मंसिर १४, सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-२ कारमाराङमा बिहान ९ बजेसम्म मतदानस्थलमा एकजना पनि मतदाता आएका छैनन् । मकालु गाउँपालिका अध्यक्ष पदको लागि हुन लागेकाे उपचुनावमा कारमाराङ मतदान स्थलमा एकजना पनि मतदाता नआएकाे त्यहाँ खटिएका कर्माचारीले बताएका छन् ।

अहिले त्यहाँ कर्माचारी र सुरक्षाकर्मी मात्रै बसेका छन् । यता मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले चिसोका कारण मतदाता बिहानै नआएको हुनसक्ने बताए ।

मकालु गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा सात वटा पार्टीले भाग लिएका थिए । नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली काङ्ग्रेसबाट विमल पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट मनबहादुर विक, समाजवादी पार्टीबाट नुर्बु शेर्पा र सङ्घीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दिएका छन् ।

यसैबीच भक्तपुरमा अहिलेसम्म १० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु मतदानमा मतदाताको संख्या भने अत्यन्त न्युन रहेको निर्वाचन अधिकारी घमचन्द्र तिम्सिनाले बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार