नेत्र भण्डारी र मिरा गिरीको ‘अमिलो अम्चुर’ गीत सार्वजनिक


मंसिर १४, काठमाडाैं । चर्चित लाेकदाेहाेरी गायक नेत्र भण्डारी र मिरा गिरीको आवाजमा ‘अमिलो अम्चुर’ बाेलकाे गीत सार्वजनिक भएको छ। सयाैं गीतमा आवाज दिइसकेकाे भण्डारीकाे स्वरमा रहेकाे उक्त गीत राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएकाे हाे । भण्डारीले यसअघि  स्याउ ल्याइ दिउकी केरा, नियती, जवानिको छल्का, हार्दिक श्रद्धानजली जस्ता थुप्रै चर्चित गीत गाइसकेका छन् ।

गीतको सिर्जना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बिजिले गरेका हुन् । गीतको लय सल्यानी संगीतकार धुर्व राज धितालले गरेका छन्। गीतको म्युजिक भिडियोमा निकै उत्कृष्ट कलाकारको अनुहार पनि देख्न सकिन्छ। गीतको म्युजिक भिडियोमा चर्चित मोडल सुनिल क्षेत्री र रिचा थापाको अभिनय रहेको छ।

गीतकाे विमाेचन

यसैबीच गीतलाइ शुक्रबार राजधानीको दरबारमार्ग स्थित दरबार रोधी घरमा आयोजित एक कार्यक्रमका बीच विमाेचन गरिएकाे छ । गीत विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका  प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, विशिष्ठ अतिथि पुर्व अध्यक्ष चन्द्र शर्मा, संगीतकर्मी पृथ्वी थकाली, संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्की, प्रतिष्ठानकी केन्द्रीय सदस्य अमृता लामिछाने मगर, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साललगायतको विभिन्न कलाकर्मीका साथै पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन कलाकार दिनेश काफ्ले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ रहेका थिए ।

गीत बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि बिजिले गीतले मौलिक परिवेश अंगालेको बताए। उनले भने, ‘म भर्खरै अध्यक्षमा निर्वाचित भएको छु, अझै आधिकारिक जिम्मेवारी सम्हालेको छैन, यहि १६ गतेबाट बल्ल सबै नव निर्वाचित केन्द्रीय समितिलाई कामको जिम्मेवारी सुम्पिने छ।’

उनले आफुलाई अध्यक्ष पदमा निर्वाचन गराउन महत्वपुर्ण भूमिका खेल्ने विभिन्न मिडियाका पत्रकारहरु र शुभचिन्तकहरुलाई धन्यवाद दिए। उनलाई गायिका मिरा गिरीले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन्।

त्यस्तै विशिष्ठ अतिथि चन्द्र शर्माले पनि उक्त गीतले मौलिकताको मर्म बुझेको बताए। गायिका गिरीले पनि गीतले मौलिकता नछाडेकाले दर्शक स्रोताको माया पाउने अपेक्षा गरेको विचार ब्यक्त गरिन्। कार्यक्रममा आफ्नो गीतलाई विभिन्न मिडियाले साथ र सहयोग गरेको भन्दै पत्रकारहरुलाई प्रसंसापत्र प्रदान गर्नुका साथै उपस्थित अतिथिलाई मायाको चिनो प्रदान गरेकी थिइन्।

हेर्नुहाेस भिडियाे

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार