• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

सल्यानको शारदा नगरपालिकाले जेष्ठ नागरिकलाई दियो चाडपर्व खर्च


मंसिर १८, सल्यान । सल्यानको शारदा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई वडामै गएर चाडपर्व खर्च स्वरुप सम्मान गरेको छ । नगरले गत आर्थिक वर्षबाट ७५ वर्ष उमेरभन्दा माथीलाई दिदै आएको २ हजार रुपैयाँ यो वर्ष पनि वडामा गएर सम्मान स्वरुप वितरण गरेको हो ।

बुधवार उपप्रमुख सावित्रा बस्नेतले वडा नम्बर १४ र १५ मा गएर ६९ जना जेष्ठ नागरिकलाई सम्मान गर्दै नगरपालिकाको तर्फबाट २ हजार रुपैयाँ वितरण गरेकी हुन् । अरु बाँकी आउन नसकेकाहरुका परिवार नगरपालिमा आएर लिन सक्नेछन् ।

रकम हस्तान्तरण गर्दै उपप्रमुख बस्नेतले जेष्ठ नागरिकहरुको सम्मानको लागि शारदा नगरपालिका सधै तत्पर रहेको बताइन् । उनले आगामी दिनमा पनि जेष्ठ नागरिकहरुलाई अन्य सम्मानजनक कार्यक्रमहरु ल्याउनको लागि आफुहरुले तयारी गरिरहेको बताइन् । शानपा १४ का वडा अध्यक्ष कृष्ण बहादुर गिरी र १५ का अध्यक्ष हिमेन्द्र बाबु सेजवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसैबीच शारदा नगरप्रमुख सुरेश अधिकारीले नगरपालिकाले अघिल्लो वर्षदेखि लागू गरेको यो नितिलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने बताएका छन् । उनले यो आर्थिक वर्षदेखि नयाँ कार्यक्रमहरुमा जेष्ठ नागरिकहरुलाइ औषधी उपचार खर्च भनेर मासिक ३ सय रुपैया दिने पनि निर्णय गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १८ गते बुधवार