सवारी दुर्घटना हुँदा पाल्पामा २ र नवलपरासीमा १ जनाको मृ’त्यु


मंसिर १९, काठमाडाैं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट खोलामा खसेको हो । दुर्घटनामा मृ’त्यु हुनेको सनाखत भएको छैन ।

दुई जनाको शव अप्ठ्यारो भीरमा झुण्डिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी रामप्रसाद शाहले बताए । सडकबाट करिब पाँच सय मिटर तल खसेको जीप टुक्रा-टुक्रा भएको छ । जीपमा कतिजना सवार थिए भन्नेसमेत यकिन नभएको डीएसपीशाहले बताए ।

प्रारम्भिक जानकारी अनुसार बुटवलमा मर्मत गरेर फर्किंदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटना भएको सडकको अवस्था हेर्दा सडकका कारण नभइ अन्य कारणले दुर्घटना भएको हुनसक्ने डीएसपी शाहले बताए । जीप श्रीनगर यातायात व्यवसायी समितिको भएको प्रहरीले जनाएको छ ।

यसैबिच नवलपरासी(पूर्व) को गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१० बस्ने २६ वर्षीय बीरेन्द्र गिरी रहेका छन् ।

गैंडाकोट नगरपालिका-२ नमस्ते चोकस्थित सडकमा ना.६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए ।

घाइते गिरीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरमा सवार नवलपरासी गैंडाकोट नगरपालिका-४ बस्ने २१ वर्षीय आकाश सिंजाली घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र दुवै सवारी साधन तथा ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार