मंसिर १९, सल्यान । सल्यानमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम रुकुमबाट काठमाडौं तर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रा.लि.को गाडीमा लुकाइछिपाइ लिदै गरेको २ केजि ४८ ग्राम प्रतिबन्धित अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरी निवासी ४८ बर्षीय झक्कु प्रसाद बोहोरा र बागचौर नगरपालिका वडा नम्बर १० पिपलनेटा निवासी बस चालक ४५ बर्षीय टेकमप्रशाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख (डिएसपी) ढकेन्द्र खतिवडाले बताए । उनिहरुलाई गएको मंसिर १३ गते बेलुका पक्राउ गरिएपछि प्रहरीले आज १९ गते घटना सार्वजनिक गरेको हो ।
राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ बाङ्गेलाखुरी बाट दाङतर्फ जाँदै गरेको उक्त बस गोप्य सूचनाका आधारमा खानतलासी गर्दा अफिमसहित उनीहरु पक्राउ परेको डिएसपी खतिवडाको भनाइ छ ।
बरामद भएको अफिम बस चालक शर्माको झोलामा भएको हुँदा उनको पनि प्रतिवन्धित आगुऔषध ओसार पसार तथा बिक्रि वितरण गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको प्रहरीको भनाई छ । उक्त लागुऔषध बसको ड्राईभर सिट देखि माथी र्याकको डिक्की भित्र लुकाई ल्याई रहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।
उनिहरुलाई कर्णाली प्रदेश आर.आई.टी. ब्युरो, कर्णाली प्रदेश लागु औषध ब्युरो र इलाका प्रहरी कार्यालय सिमाखोलीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत सल्यानमा २० दिनको म्याद थपाई अनुसन्धान सुरु गरियको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।