• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

ईलाका प्रशासन कार्यालय थारमारे सल्यानमा प्रमुख नहुँदा काम ठप्प


मंसिर १९, सल्यान । सल्यानकाे बागचाैरमा रहेकाे ईलाका प्रशासन कार्यालय थारमारेमा कार्यालय प्रमुख नहुँदा झण्डै एक महिनादेखि कामकाज ठप्प भएको छ । एकवर्ष पहिलेदेखि प्रमुखको रुपमा कार्यरत चिन्तामणी रेग्मी सिद्ध कुमाख गाउँपालिकामा सरुवा भएपछि एक महिनादेखि ईलाका प्रशासन थारमारे प्रमुख विहीन बनेको हो ।

अहिले प्रमुख नहुँदा ईलाका प्रशानबाट हुने सबै काम रोकिएको कर्मचारी पुष्पा ओलीले बताइन् । कार्यालय सहयोगी सहित ८ जनाको दरबन्दी रहेको यो कार्यालयमा अहिले ४ जना कर्मचारी छन् । जसको अहिले प्रमुख नहुँदा कामै नभएको उनले बताइन् ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले भनिन्, ‘हाकिम नहुँदा यहाँबाट हुने सबै काम रोकिएका छन्, हाम्रो पनि कुनै काम छैन्, बिहान आएर कार्यालय खोल्ने र घाम ताप्ने मात्रै काम गर्छौं ।’ सेवाग्राहीहरु आउने र फर्किएर जिल्ला सदरमुकाम खलंगा जाने गरेको उनले बताइन् ।

बागचौर नगरपालिका, दार्मा र कुमाख गाउँपालिकाका नागरिकलाई सेवा दिने गरी यो कार्यालय २०७२ मा खुलेको थियो । यो कार्यालयबाट विषेशगरी नागरिकता वितरण गरिन्छ भने प्रमाणितकरण पनि गरिन्छ ।

दैनिक १० देखि ५० जनासम्मले सेवा लिने ईलाका प्रशासन बागचौरबाट अहिलेसम्म साढे ८ हजार बढिले नागरिकता मात्रै लिएका छन् । कर्मचारी ओलीले भनिन्, ‘कुनैदिन त हाम्रो नास्ता खानेसम्म फुर्सद हुदैनथियो, धेरैलाई सहज भएको थियो । अहिले सदरमुकाम जाने समस्या भएको छ ।’

उनले कार्यालय प्रमुख भएपछि एकजना कर्मचारीले मात्रै पनि काम गर्न सकिने भन्दै प्रमुख ल्याउनमा कसैले चासो नदेखाएको बताइन् । अघिल्लो वर्षपनि एक वर्षसम्म कार्यालय प्रमुख नहुँदा यहाँ कामकाज ठप्प भएको थियो ।

यता प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले ईलाका प्रशासन कार्यालय थारमारेमा भएको समस्याबारे आफुले मन्त्रालयमा जानकारी गराएको बताए । उनले मन्त्रालयमा पनि कोहि खाली नभएकोले समय लाग्न सक्ने बताए । ईलाका प्रशासन आफ्नो मातहतमा नभएको भन्दै उनले जिल्लाबासी सबैले जोड गरेमा प्रमुख छिटो आउन सक्ने बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार