रोल्पाका द्वन्दपिडित तथा टुहुरालाई बेल्जियमका आमाहरुको सहयोग हस्तान्तरण


मंसिर १९, काठमाडाैं । सिद्दार्थ नमुना मा.वि. घोप्टेओढार गंगादेब-३ रोल्पामा अध्यनरत द्वन्दपिडित, असाहय, जेहेन्दार बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि निर्मत अक्षयकोषमा सहयोग रकम नेपाली प्रगतिशील महिला मञ्च बेल्जियमद्वारा हस्तान्तरण गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरी सयुक्त नेपाली मोर्चा युरोपका पुर्व अध्यक्ष तथा समाजसेवी सुरेन्द्र भुसालको उपस्थितिमा रकम हस्तान्तरण भएको थियो ।

नेपाली प्रगतिशील महिला मंच बेल्जियमको पहलमा १ लाख ९ हजार ३४ रकम हस्तान्तरण भएको हो । विद्यालयको तर्फबाट सुचना बिभाग प्रमुख केबी गुरुङ, नमुना अभियान सल्लाहकार नबिन खड्काले सहयोग बुझेका थिए ।

सुचना प्रमुख केवी गुरुङले नमुना विद्यालय अभियान बारे प्रस्ट्याएका थिए भने अभियन्ता तथा सल्लाहकार नबिन खड्काले बेल्जियममा बस्ने महिलाहरुको सहयोगबारे बिस्तृत बताएका थिए । साथै उनले सहयोगी दाताहरूलाई विद्यालय अबलोकन तथा भ्रमणगर्न आग्रह गरेका थिए ।

त्यसैगरी दाताहरुको तर्फबाट समाजसेवी सुरेन्द्र भुसालले दाताहरुको सहयोगले विकटको विद्यालयका बालबालिकाहरुलाई शैक्षिक टेवा पुग्ने बिश्वास व्यक्त गरे । उक्त विद्यालयलाई आगामी दिनमा सहयोग गर्दै जाने समेत भुसालले बताए ।

विगत केही समय पहिले नेपाली प्रगतिशील महिलाहरुको पहलमा संकलित रकम यसअघि बेल्जियमबाटै बैंकद्वारा पठाउदा प्राबिधिक समस्याका कारण सफल हुन नसकेकाले सुरेन्द्र भुसालको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रम पोष्टपाटीको कार्यलय अनामनगरमा सम्पन भएको थियो ।

कार्यक्रममा जलजला मिडिया, साईकुमारी मिडिया, दर्पण खबर, फेवाटाइम्स, लोकप्रिय खबर, थाहाअनलाइन मिडियाहरु उपस्थित थिए । कार्यक्रमको संचालन पत्रकार असोक ओलीले गरेका थिए ।

सिद्दार्थ नमुना माध्यमिक विद्यालय रोल्पामा “नमुना विद्यालय निर्माण अभियान” तयगरि २०७३ जेठ २८ गते देखि अभियान सुरु भएको थियो । अभियानले आर्थिक ब्यबस्थापनलाई मध्यनजरगरि एक करोड अक्षयकोष निर्माण गर्ने लक्ष्य लिएको छ ।

हालसम्म करिब ३० लाख रकम उठेको नमुना बिद्यालय अभियान संयोजक प्रेम बहादुर वलीले बताए । उनले अझै पनि दाताहरुको सहयोग आबस्यक परेको बताउदै सहयोगका लागि अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार