मंसिर २०, काठमाडाैं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा नेपालको नक्सा प्रर्दशन गरेको छ । पार्टीको केन्द्रीय घाेषित कार्यक्रम अनुसार बिहीबार कालिकोट, झापा लगायत देशका विभिन्न ठाउँमा नक्सा प्रदर्शन गरेको बताइएको छ ।
यहीँ क्रममा सयौं जनसमुदायको सहभागितामा कालिकोटमा नक्सा प्रर्दशनपछि जनसभा सम्पन्न भएको छ । उक्त जनसभालाई जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए । बेजोड कलाकारको प्रस्तुतीसहित सम्पन्न सभामा बोल्दै सेक्रेटरी रणदिपले बरु आफुहरू मर्न तयार भएकाे तर नेपालकाे भुमी गुम्न नदिने बताए ।
उनले गुमेको नेपाल फिर्ता ल्याएरै छाेड्ने प्रतिबद्धता गर्दै भने-‘ यो कसैबाट सम्भब छैन मात्रै नेकपाको नेतृत्वमा सम्भव छ, किनकी सबै दल र तिनका नेताहरु भारतले खरिद गरिसकेकालेे बोल्ने हिम्मत छैन, बोले सत्ता गुम्ने डरले चुप लाग्नु बाध्यता छ ।’
त्यस्तै नेकपा झापाले पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार बिहिबार विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी श्रीजंगले झापालि जनसमुदायको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताए ।
नेकपाले झापाको दमकस्थित हिमाबि, सुरुङ्गा, सिवसताक्षी, भद्रपुर, बिर्तामोड, बुद्धशान्ति, मेचिनगर लगायतका स्थानमा बृहत् नेपालको नक्सा सहितको ब्यानर राख्दै प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ। प्रचारप्रसारमा उपस्थित झापालि जनताले राष्ट्रियताकाे निमित्त आफुहरुकाे निरन्तर साथ रहेको बताउँदै निरन्तर अगाडि बढ्न सुझाव दिएको सेक्रेटरी श्रिजंगले बताए ।