मंसिर २२, काेहलपुर । ठक्करबाट एक स्कुले विद्यार्थी गम्भीर घाइते भएपछि भएको प्रदर्शन निन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर क्षेत्रमा अनिश्चितकालlन कर्फ्यू जारी गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको जानकारी दिए ।
आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्द गम्भीर घाइते भएकी छिन्। उनको अस्पतालमा उपचार भइरहेको छ । (यसअघिको समाचारमा ट्रकको ठक्करबाट वालिकाको मृत्यु भन्ने व्यहोरा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।)
घटनापछि दिनभर कोहलपुर क्षेत्र तनावग्रस्त बनेको छ । विद्यार्थीले गरेकाे नाराबाजीलाइ नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको रबर बुलेटबाट दर्जनबढी आन्दोलनकारी घाइते भएका छन्।
आफ्ना छोराछोरीमाथि प्रहरीले लाठी चार्ज गरेको देखेपछि स्थानीय बासिन्दा आक्रोशित हुँदै आन्दोलनमा मिसिएका थिए। स्थानीय बासिन्दाले साथ दिएपछि त्रिभुवन मावि अगाडिबाट प्रहरीलाई लखेट्दै इलाका प्रहरी कार्यालय पुर्याइएको थियो। प्रहरीलाई भीडलाई नियन्त्रण गर्न दर्जनौ हवाइफायरका साथै आन्दोलनकारीलाई ताकेर रबरको गोली हानेको छ।
स्थानीय र प्रहरीबीच भएको झडपमा १५ जना घाइते भएका छन् । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी पनि रहेका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट घाइते भएकी प्रकृति चन्दलाई काठमाडौं लगिएको छ। थप उपचारका लागि उनलाई ग्वार्कोस्थित बीएण्बी अस्पतालमा लगिएको हो। प्रकृतिका दुबै खुट्टा ट्रकको टायरबाट पेलिएका छन्।