४ स्वर्ण जित्दै रचिन् इतिहास गौरिका सिंहले


मंसिर २३, काठमाडौं  ।  ‘जलपरी’ गौरिका सिंहले दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीबाट चौथो स्वर्ण पदक जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले महिलातर्फ १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी हुन्।

स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकाल्न सफल भइन्। यो स्पर्धामा भारतकी शिवांगी शर्माले रजत पदक जितेकी छन्। योसँगै गौरिकाले एउटै सागमा चारवटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छन्। सागमा कुनैपनि नेपाली खेलाडीले ४ वटा स्वर्ण जितेको यो पहिलो पटक हो ।

यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितिसकेकी छन्। चौथो स्वर्णसँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छन्।

उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भइन्। उनले चार स्वर्ण, एक रजत र समूहगत स्पर्धामा एक कास्यससहित यो सागमा कूल ६ पदक जितेकी छन्।

यसअघि फरक फरक सागमा नेपालका तेक्वान्दो खेलाडी दिपक विष्टले मात्र चार स्वर्ण जितेका थिए । गौरिकाले यस साथमा चार स्वर्णसहित दुई रजत र दुई कांस्य पनि जितेकी छन् । साग पौडीमा गौरिकाले आठ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार