भ्रष्टाचार विरुद्ध सल्यानमा फुटबल


मंसिर २३, सल्यान । भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवस सल्यानमा फरक तरिकाले मनाईएको छ । दिवसको अवसरमा जिल्लामा सदाचार र भ्रष्टाचार लेखिएका २ वटा बललाई कोर्डमा राखि भ्रष्टाचारलाई कोर्ड बाहिर फलेर सदाचार लेखेको बल लिएर मैत्रिपुर्ण फुटबल खेलेर मनाइएको छ ।

जिल्लाका पत्रकार, सामाजिक संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, सरकारी कर्मचारी सहभागि फुटवलमा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने र नेपाली सेनाका गनपती घनश्याम भट्टराइको नेतृत्वमा रहेका २ टिमले प्रतिस्पर्धा गरेका छन । आधाघण्टासम्म भएको खेलमा न्यौपानेको टीमलाई भट्टराइको टिमले १ का विरुद्ध २ गोलले जितेको छ ।

यसैबिच दिवसको अवसरमा सल्यानको खलंगामा सरोकारवालाहरुको हस्ताक्षर संकलन गरिएको छ । सुशासनका लागी हाम्रो प्रतिबद्धता, भ्रष्टाचार गर्दिन्न, भ्रष्टाचार गर्न दिन्न र सहन्न भन्दै जिल्लाका सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएतले हस्ताक्षर गरेका छन् । जिल्ला प्रशासन कार्यालय, इन्सेक नेपाल, हरप्लेस सल्यान तथा बागेस्वरी असलशासन क्लब सल्यानको संयुक्त आयोजनामा हस्ताक्षर संकलन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले भ्रष्टाचार विरुद्द सबै लाग्नु पर्ने बताए । उनले भ्रष्टाचार बढेमा नागरिकहरु मानवअधिकारमैत्री सेवा पाउन बाट वन्चित हुने भएकाले यसकाे न्युनिकरणका लागी सबै लाग्नु पर्ने बताए ।

हरेक बर्ष डिसेम्वर ९ लाई अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मनाइन्छ । आयोजक संस्था हरप्लेस सल्यानका दिपेन्द्र शाहीले कार्यक्रमको सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार