मंसिर २४, काठमाडाैं । अभद्र व्यवहारसम्बन्धी कसूरका अभियुक्तसँग घुस लिएको सार्वजनिक भएपछि गृह मन्त्रालयमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
रिजालले मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको थियो । रकम लिएर मुद्दा नचलाउने निर्णय गरेको अभियुक्तको दाबी सार्वजनिक भएपछि आयोगले छानविन थालेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले रिजालले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस रकम लिएको सूचना पत्रपत्रिकामा प्रकाशित भएपछि अनुसन्धान थालिएको बताए ।
उनले भने, ‘रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा आफ्नोविरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुग्न सक्ने भएकाले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालयले सिंहदरवारमा लेखी पठाइएको छ ।