मंसिर २९, काठमाडौं । सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । घाइते १७ मध्ये अधिकाशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये सिन्धुपाल्चोक जुगल ७ का २८ बर्षिय सुक बहादुर तामाङ, सोही स्थानका सात बर्षिया सविना तामाङ, दोलखाको भिमेश्वर नगरपालिका–९ की ३७ वर्षिया जुनुमाया तामाङ, सोही स्थानकी २८ वर्षिया मन्जु तामाङ र रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २८ बर्षिय महेश तामाङको मात्र सनाखत भएको छ ।
दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना भएको हो । बस आज(आइतबार)बिहान लामो साँघु चरिकोट सडकखण्डमा पर्ने सुनकोशी–७ मा सडकबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
६ किलो मोडबाट पल्टिएको बस तल सडकमै पुगेको थियो । भक्तपुरबाट हिजो रिजर्भ गरेर कालिन्चोक भगवती मन्दिर दर्शनका लागि गएको बस फर्कँदै गर्दा दुर्घटनामा परेको हो । बसमा ३२ जना सवार रहेको प्रहरीले जनाएको छ । बस क्षत विक्षत भएको छ ।
झ्यालबाट भागे ड्राइभर
भक्तपुरको आदर्श नगर बस्दै आएका उनीहरु कालिञ्चोकको हिउँमा रमाइलो गर्न र मन्दिर दर्शन गर्न शनिबार गएका थिए। बिहान गएका उनीहरु राति नै फर्कन चाहन्थे। तर दुर्घटना हुने डरले मुडे बजारमा बसे। तर जे नहोस् भन्ने कामना गरेका थिए, नियतिले त्यही भइदियो।
बाटो अप्ठेरो भएकाले राति नै फर्कँदा दुर्घटना हुनसक्ने डरले लिसंखुपाखरको मुडे बजारमा उनीहरु बास बसेका थिए। आइतबार बिहानै मुडेबाट हाँसीखुसी काठमाडौं हिँडे। तर उनीहरुको यो खुसी धेरैबेर टिक्न सकेन। ३० जनाको समूहमा रहेका उनीहरु चढेको बस मुडे बजारवाट ६ किलो आइपुग्दा दुर्घटना भयो। उक्त दुर्घटनाका घाइते धानकाजी तमाङले भने, ‘हाम्रो खुुसी एकैछिनमा भयानक दुर्घटनामा परिणत भयो।’
सुरुदेखि नै बसको स्टेरिङ साह्रो भयो भन्दै चालक गनगन गर्दै थिए। ‘५ किलोभन्दा अलि माथि आइपुग्दा मोडमा बेस्कन ब्रेक लगाएको आवाज आयो’ उनले घटनाको सम्झना गरे, ‘गाडीमा एक्कासी धुँवा पनि आयो। त्यसको दुर्गन्धले हामी मुख खोल्न नसक्ने भयौं र मुख छोपिरहेका थियौं।’
ड्राइभरले ब्रेक लगाउन प्रयास गरिरहेको तर त्यो सम्भव नभईरहेको बुझेका थिए यात्रुहरुले। गाडीमा एक्कासी आएको यो समस्यापछि सबै यात्रु आत्तिए। ‘हेर्दाहेर्दै चालक त झ्यालबाट हामफालेर बेपत्ता भए, हाम्रो होसहवास उड्यो बस खस्यो,’ उनले भने, ‘आफैं चढेको बस खसेको देख्दादेख्दै म एकदमै एकोहोरो भएँ । दुई वर्षे छोरो समातेर दाई–भाउजु दाई पछाडी बसेर अत्तालिदै हुनुहुन्थ्यो।’
धानकाजीलाई यो सपना झैं लागिरहेको थियो। एकछिन अघिको बाटो र अहिलेको परिस्थितिबीच उनले आफूलाई फरक गराउनै सकेनन्। ‘बस तल आइपुगेर बजारियो। चर्को आवाजसँगै झ्यालको सिसा फुट्यो। म बसबाट बाहिर हुत्तिएर बेहोस भएछु,’ उनले भने, ‘होस आउँदा आफूलाई अस्पतालमा पाएँ।’ बसमा धेरै मान्छे नभएको तर चालकले जर्बजस्ती ल्याउँदा यस्तो भएको उनको वुझाइ छ।
भाउजुसहित दाईको छोरालाई सामान्य चोट लागेको उनले जानकारी पाएका छन्। दाईको छोरो र भाउजुको अवस्थाले उनलाई सन्तोष दिएपछि दाई बितेको सुनेपछि उनी रुन पनि सकेका छैनन्। ‘भाउजु र छोरालाई यही खाडीचौर अस्पतालमा उपचार हुँदै छ, साह्रै रुन मन लागेको छ। मचाहिँ भाग्यले बाँचें,’ उनले भने।
दुर्घटनामा घाइते भएका अर्का दिपक तामाङले पनि ड्राइभरले समयमै खवर नगर्दा यस्तो भएको बताए। सुनकोसी स्वाँराको ५ किलोमा आइपुग्दा बस अचानक हल्लिन थालेको तर ड्राइभरले यसको जानकारी गराएर मर्मततिर नलाग्दा दुर्घटना भएको उनको भनाइ छ। यो भयानक दुर्घटनामा आफू बाँच्छुजस्तो उनलाई लागेको थिएन ।
‘जब गाडी एक्कासी खस्यो त्यसपछि के भयो मलाई थाहा छैन, म त बेहोस भएछु’ उनले भने, ‘मेरो उद्दार गरेर खाडीचौर बजारको सिन्धुसदाबहार अस्पताल लगिएछ। मेरो अस्पतालमै होस आयो। टाउको र आँखामा चोट लागेको छ। हेर्न पनि साह्रै गाह्रो भएको छ।, गाडीमा रहेका अन्य साथीहरु कहाँ छन् केही थाहा छैन।’ दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको बा४ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर मोडबाट पाँच सय मिटर तल सडकमा खसेर दुर्घटना भएका हो।
घाइते दीपक तामाङका अनुसार घटनास्थलमै १२ र अस्पतालमा उपचारका क्रममा दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा आठ महिला, तीन पुरुष र तीन बालबालिका छन्।
घटनामा परि १४ जनाको मृत्यु् भएको छ। तर घटनास्थलमा एक बालक सकुशल फेला परेका छन्। बलेफी गाउँपालिका ७ का वडाध्यक्ष कार्केल लामाले एक वेबारिसे बालक फेला परेको बताए । घाइतेहरुको पहिचान भएको तर मृतकको पहिचान हुन बाँकी रहेको भन्दै उनले बच्चा सकुशल रहेकाले जिम्मा लगाउने समस्या भएको बताए।
‘घटनामा परेकामध्ये एउटा बालक अलपत्रमा परेका छन्, कसको हो पत्ता लगाइदिनु पर्ने भयो,’ उनले भने, ‘दुर्घटनाका मृतक र घाइतेको आफन्त आइरहेका छन्। तर, यी नानीको कोही पनि आएको छैन।’