पौष १, सल्यान । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानको १९ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो संगठनका केन्द्रीय महासचिव प्रकाश शाहीको प्रमुख आतिथ्यता तथा पार्टीका जिल्ला सेक्रेटरी लोक्पाल केसी र संगठनका केन्द्रीय सदस्य दिपक विष्टको विशेष आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले गणेश आर्सीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिती चयन गरेको छ । सरकारी प्रतिबन्धका बीच सल्यानको एक ठाउँमा भएको सम्मेलनले शैक्षिक विकृती र राष्ट्रियताको पक्षमा सडक संघर्षमा होमिने निर्णय गरेको विज्ञप्तीमार्फत जनाइएको छ ।
सम्मेलनमा बोल्दै संगठनका महासचिव शाहीले विद्यार्थीको पक्षमा बोल्दा सरकार फाँसिवाद तिर उन्मुख भए आफु बलिदानी दिन तयार भएको बताए । उनले प्रतिबन्धलाई खारेज गर्दै विद्यार्थीहरु एकै स्वरमा सडकमा आउने बेला भएको बताएका छन् ।
त्यस्तै नेकपाका जिल्ला सेक्रेटरी लोक्पालले आगोको झिल्कालाई परालले तोप्न नसक्ने बताए । आफुहरु आगोको झिल्को भएको भन्दै उनले नेकपाले संचालन गरेको एकीकृत जनक्रान्ति आगोजस्तै ठाउँठाउँमा सल्किने बताए । आगोलाई रोज्नेहरु आफै जलेर ध्वस्त हुने उनको भनाई छ ।