राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा-राजपा तालमेल


पुस २,काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच बुधबार दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका नेताहरुबीच भएको वार्तापछि माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका क्रममा चार सिटका लागि सहमति भएको छ।

सहमति अनुसार प्रदेश नम्बर २ को राष्ट्रिय सभा निर्वाचनका लागि रिक्त हुने स्थानमध्ये अन्य पुरुष समूह र अपांगत भएका व्यक्ति वा अल्पसंख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने भएको छ। त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपालाई सघाउने भएको छ।

दुई दलबीच राष्ट्रिय राजनीतिका विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यलाई अघि बढाउने अर्को सहमति पनि भएको छ। सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।

आगामी फागुन २० गतेसदेखि राष्ट्रिय सभाका १९ जना सदस्यहरुको दुई वर्षे कार्यकाल सकिँदैछ। त्यसका लागि माघ ९ गते निर्वाचन हुने तालिका सार्वजनिक भइसकेको छ। रिक्त १९ मध्ये एकजना चाहिँ राष्ट्रपतिबाट मनोनित हुनेछ।

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार