पाैष ३, सल्यान । मंगलबार पक्राउ परेका विप्लव नेकपा सल्यानका नेता पदमबहादुर केसी ‘सन्तोष’लाई लगाइएको मुद्दा झुटो भएको भन्दै सो पार्टीले आफ्नो धारण सार्वजनिक गरेको छ । केसी घरायसी कामको लागि रुकुमको झुल्नेटा बजार गएको बेला प्रहरीले विस्फोटक पदार्थको प्रचार गरेर पक्राउ गरेको नेकपा सल्यानका सेक्रेटरी लोक्पाल केसीले बताएका छन् ।
सेक्रेटरी लोक्पालले बिहीबार एक विज्ञप्ती जारी गर्दै पार्टीको विस्फोटक पदार्थ बोक्ने निर्देशन नभएको र पक्राउ परेका सन्तोषले पनि विस्फोटक पदार्थ नबोकेको बताएका छन् । प्रहरीले आफ्नै विस्फोटक पदार्थ देखाएर झुटा मुद्दा लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
झुटा मुद्दा खारेज गरेर तत्काल रिहाइ गर्न सो पार्टीले विज्ञप्तीमार्फत आग्रह गरेको छ । रिहाई नगरे परिणम नराम्रो आउने भन्दै उक्त पार्टीले सरकार आफै जिम्मेवार बन्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले नेता सन्तोषलाई दार्मा गाउँपालिका ५ अधेरीखोलाबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले उनको साथबाट बम बनाउन प्रयोग हुने विभिन्न विष्फोटक पदार्थ र राजनीतिक प्रतिवेदन फेला परेकाे दाबी गरेकाे छ । प्रहरीले १९ वटा बुँदामा लेखेर नेता सन्ताेषकाे साथबाट फेला परेका सामाग्रीकाे नाम सार्वजनिक गरेकाे छ ।