पौष ४, रूकुम । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि वडा अध्यक्षले गुण्डा परिचालन गरि कुटपिट गरेका छन् । अधिकृत रामबहादुर केसीलाई वडा नम्बर ३ का वडाअध्यक्ष केशरमान विकले गुण्डा परिचालन गरेर कुटपिट गरेका हुन् । कुटपिटबाट केसीको टाउकोमा चोट लागेको छ ।
प्रशासकीय अधिकृत केसीसँगै सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि पनि कुटपिट भएको छ। चन्दलाई सामान्य चोटपटक लागेको छ भने केसीको टाउकोमा पाँच टाका लगाइएको छ ।
कार्यालयको काम सकेर बुधबार साँझ कोठनतिर जाँदै गर्दा वडाध्यक्ष बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले आफूहरुमाथि कुटपिट गरेको अधिकृत केसीले लेकाली अनलाइनलाई बताए । विभिन्न योजनाका रकम भुक्तानी र बेरुजुका विषयमा पटकपटक वडाध्यक्षले आफुसँग विवाद गर्दै आएको रिग राखेकाले भौतिक आक्रमण गरेको अधिकृत केसीले बताए ।
आफुले वडाध्यक्ष र उनका भाइ विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला प्रहरी कार्यालय रुकुममा दर्ता गरिसकेको अधिकृत केसीले बताएका छन् । वडाध्यक्ष केशरमान बिक भने पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । भाइ फरार भएकोले खोजिकार्य भैरहेको प्रहरीको भनाइ छ ।